दसैंमा जुध्दैछ फिल्म, आपसमा भिड्दैछन् निर्माता

रोहित अधिकारी र सन्तोष सेनबीचको विवादले दर्शकहरूलाई विभाजित गरेको छ, जहाँ व्यक्तिगत आक्रमण र साइबर सेनाको प्रयोगको आरोप लगाइएको छ ।

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

The film is competing in Dasain, the producers are competing with each other

What you should know

काठमाडौँ — आगामी दसैंको फूलपातीमा दुई फिल्म ‘बलिदान’ र ‘माइतीघर’ एकसाथ रिलिज हुँदैछन् । फिल्महरूले सिर्जनात्मक प्रतिस्पर्धा गर्नुपर्ने हो । फिल्मकर्मीहरूले एक अर्काप्रति शुभेच्छा प्रकट गर्नुपर्ने हो ।

तर यतिबेला यी दुई फिल्मको निर्माताहरूबीच द्वन्द्व सिर्जना भइरहेको छ । कतिपयले त यसलाई फिल्म चलाउने फण्डाका रुपमा पनि आँकलन गरिरहेका छन् । तर फिल्म क्षेत्रमा स्वस्थ बहस र छलफल हुनुपर्नेमा फिल्मकर्मीहरू एकअर्काबीच गालीगलौज र धम्कीमा उत्रिँदा गलत अभ्यास भइरहेकोमा केही फिल्मकर्मीहरूको चिन्ता छ ।

द्वन्द्व माइतीघर फिल्मका निर्माता रोहित अधिकारी र बलिदानका निर्देशक तथा निर्माता सन्तोष सेनबीचको हो । यही द्वन्द्वमा अभिनेता दीपकराज गिरी पनि मिसिएका छन् । अहिले सामाजिक सञ्जालमा समर्थकरू बटुलेर एक अर्काको फिल्म बहिष्कार गर्ने अभियानसमेत चलिरहेको छ ।

अहिले भने एकअर्काले अडियो र सीसीटीभी फुटेजसमेत सार्वजनिक गरिरहेका छन् । रोहितले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा उनलाई पिछा गरिरहेको देखिन्छ भने सूत्रन्यूज च्यानलमार्फत सार्वजनिक अडियोमा भौतिक आक्रमणका कुरा सुनिन्छन् ।

घटना के हो ?

रोहितले फिल्म ‘माइतीघर’को प्रचारप्रसार सामाजिक सञ्जालमार्फत गर्ने क्रममा ५ दिनअघि एउटा स्टाटस लेखे, ‘एक गाली बराबार २० गाली आउँदैछ । यसलाई ठीक पार्नैपर्छ ।’ आफ्ना फिल्मका प्रचारात्मक सामग्रीमा ‘साइबर सेना’ प्रयोग गरी नकारात्मक कमेन्ट गरिएको भन्दै उनी आक्रोश व्यक्त गर्छन् ।

तीन दिनअघि फेरि उनले फेसबुक स्टाटसमार्फत् सुनियोजित गालीविरुद्ध आफूले कडाभन्दा कडा कदम चालिएको बताउँछन् । दुई दिनअघि उनले नाइकेविरुद्ध साइबर अपराधको मुद्दा चलाउने भन्दै ‘बलिदान’का निर्देशक सन्तोष सेनको प्रोफाइल सार्वजनिक गर्छन् । रोहितका स्टाटसमा प्रयोग गरिएका शब्द भने अपाच्य शैलीका देखिन्छन् । रोहितका तीन दिनअघिका स्टाटसमा सहमति जनाउँदै तीनअघि दीपकले कमेन्ट गर्छन्, ‘हामीले सेनाविरुद्ध सहने नीति लिएका थियौँ । तिमीले सेनासहित भिड्ने नीति लिएछौ । दसैं रमाइलो होला जस्तो छ ।’ 

त्यसयता दीपकका स्टाटसहरू पनि क्रमश: देखिन थाल्छन् । दुई दिनअघि दीपकले व्यंग्यात्मक स्टाटस लेख्छन्, ‘आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्मलाई गाली गर्न लगाउने काम बन्द गरौँ ! आफ्नो हिरो बाघ ! अरूको स्याल ? याद गरौँ बाघ पनि जनावर नै हो !’ दीपकको यो स्टाटस पनि सन्तोष सेन लक्षित नै थियो । त्यसपछि सन्तोषले दीपकलाई मेन्सन गर्दै अर्को स्टाटस फेसबकुमा लेखे । 

उनले दीपकलाई पापीको संज्ञा दिँदै लेखे, ‘कसैलाई कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गर्ने जुन तुच्छ सोच पालेको छौ, त्यो काम नगर..। यी दर्शककै मायाले तिमी आज यहाँसम्म आइपुगेका छौ त्यसैले उनीहरूको भावनालाई कुल्चने अधिकार कसैलाई छैन..। हाम्रो बलिदानको पोस्टमा आउने नकारात्मक कमेन्टहरू के तिम्रो समूहकै काम हो..?’

दीपकलाई फिल्माविरुद्ध साइबर सेना प्रयोग गरेको आरोप लगाउँदै उनले आक्रोश पोखे । सामाजिक सञ्जालमा यसपछि दीपकविरुद्ध गाली आउन थाल्यो । असंवेदनशील टिप्पणीहरू कमेन्टबक्समा देखिन थाले । त्यसपछि केदार घिमिरेले दीपकको समर्थनमा लामो स्टाटस लेखे । सबैले लागि बोलेको दीपकलाई अहिले सामाजिक सञ्जालमा खेदिरहेको कुराका दु:ख व्यक्त गर्दै उनका कदमका प्रशंसा गरे ।

बुधबारबाट यो जुहारीले नयाँ मोड लियो । युट्युव च्यानल सूत्र टिभीका सञ्चालक केशव खड्काले युट्युव च्यानलमार्फत एउटा अडियो सार्वजनिक गरे । जसमा दीपक, रोहित र निर्मल शर्मा फिल्म क्षेत्रकै विवादका कुरा गरिरहेका छन् ।

केही व्यक्तिगत कुरा गरिरहेका छन् । जसमा खड्कामाथि रोहितले कुटपिट गर्ने आक्रोश व्यक्त गरेको सुनिन्छ । यो अडियोले सार्वजनिक भएपछि भने फेरि दीपकराज गिरीहरूमाथि सामाजिक सञ्जालमा मानिसहरू खनिन थाले ।

सन्तोषले लामो स्टाटस लेखेर आफ्ना गुनासा व्यक्त गरे । अभिनेता विराज भट्टले पनि त्यसपछि सामाजिक सञ्जालमा स्टाटस लेखे, ‘भनिन्छ नि जो चोर उसैको ठूलो स्वर । दर्शकहरूको मायालाई साइबर सेना भनेर दर्शकहरूको अपमान गर्ने नाइकेहरुको कर्तुत सुन्नुस् । दर्शकहरुको आशीर्वाद १२ गाउँलाई थियो, बलिदानलाई पनि रहनेछ ।’

यता दीपकराजले अर्को स्टाटसमार्फत आफूले फिल्म बनाउँदा फिल्म बनाउँदा प्रदर्शको बेला बहिष्कारका नारा लागेकादेखि घृणा फैलाइएकासम्म विषय लेखे । र सन्तोष सेनबाट परिचालित भएको भन्दै सीसीटीभीका प्रसंग जोडे । रोहितले स्टाटसमा आफूलाई धम्की दिने र पिछा गर्ने मान्छेलाई सन्तोषले खटाएको भन्दै सीसीटीभी फुटेज सार्वजनिक गरे । रोहितले सार्वजनिक गरेको एउटा अडियोमा अश्लील शब्दहरू प्रयोग गर्दै भनिएको छ, ‘तेरो फिल्म रिलिज हुने बेलामा हलमा आएर हातखुट्टा भाँचिदिन्छु ।’

इगोको लडाइँ

यी घटनाक्रमले उनीहरूको एकअर्काबीच इगोको लडाइँ देखिन्छ । दीपकराज गिरी यसको प्रारम्भ अघिल्लो दसैंमा रिलिज भएको फिल्म ‘छक्का पञ्जा ५’ ताकाबाट सुरु भएको बताउँछन् ।

‘पोहोर मेरो फिल्म आउँदा म लड्क सकिनँ । मलाई त्यतिबेला खेतालाहरूले सामाजिक सञ्जालमा आक्रमण गरे । मेरो फिल्मको पोस्ट तल १२ गाउँ मात्र लेखिन्थे । उनीहरू फ्यानहरूले लेखेका भन्थे । तर फ्यानहरूले किन लेख्थे ?  अहिले मेरो फिल्म छैन । म यतिबेला रक्षात्मक उभिएँ । पोहोरको पीडा सहन नसकेर मैले अहिले व्यक्त गरेको हुँ,’ उनले भने ।

अडियोको प्रसंगमा दीपकले यो सक्कली नै भएको बताए । उनले थपे, ‘एक त त्यसरी अडियो रेकर्ड गर्न पाइन्न । हाम्रो लागि सन्तोष सेनले मान्छे खटाइरहेको थियो । यो कानुनमा बर्जित छ । हामी साथीभाइसँग बस्दा जे पनि बोलिन्छ । त्यो रेकर्ड गर्नु हुन्न थियो । रोहितले हेलमेटले हान्छु भनेपछि निर्मल दाइ र मैले मान्छे कुट्नु हुन्न भनेका हौँ ।’

फिल्म रिलिजको छेकोमा पुग्दा फिल्मकर्मीबीचको यो लडाइँले के राम्रो सन्देश देला ? फिल्म क्षेत्रलाई नजिकबाट नियालिरहेकाहरूसँग भने चिन्तासहितको प्रश्न उठिरहेको छ । 

कान्तिपुर

Link copied successfully