सरकारले सामाजिक सञ्जाल दर्ता नगर्दा कलाकार र व्यवसायीले ठूलो चुनौतीको सामना गर्नुपरेको छ । यसले रोजगारी र व्यापारमा प्रत्यक्ष असर परेको छ ।
What you should know
काठमाडौँ — हास्य कलाकार हरिवंश आचार्य सामाजिक सञ्जाल चाँडै नै संचालनमा ल्याउनुपर्ने धारणा राख्छन् । सामाजिक सञ्जालमा धेरैको रोजगारी जोडिएको हुँदा दर्ताको पहल गरिहाल्नुपर्ने आचार्य सुनाउँछन् ।
'उनीहरुले चाँडै दर्ता गरिदिए सहज हुन्थ्यो । सरकारले पहल गरेर भए पनि चाँडै दर्ता गर्नुपर्छ । सामाजिक सञ्जालमा धेरैको रोजगारी जोडिएको छ । यो दसैंको बेलामा धेरैलाई अप्ठ्यारो हुन्छ । त्यसमाथि पनि धेरैको छोराछोरी विदेशमा छन्,' उनले भने, 'उनीहरुसँग संवाद गर्नलाई पनि गाह्रो हुन्छ । यसमै आश्रित व्यापार र व्यवसाय छन् । उनीहरुलाई असर पार्छ ।'
सामाजिक सञ्जाल जीवनकै एउटा अंग भइसकेको हुँदा चाँडै नै दर्ताको पहल गराउनुपर्ने आचार्यको भनाई छ । उनले १० लाखभन्दा बढी फलोवर्स भएको सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, 'सारङ्गी रेटौंला, फेसबुक चलाउने मौका मिले फेरि भेटौंला ।'
पछिल्लो समय नेपाली फिल्मको प्रचारका लागि सामाजिक सञ्जाल बलियो माध्यम बन्दै आएको थियो । नेपाली फिल्मको व्यापारमा समेत यसले असर गर्ने हरिवंश सुनाउँछन् । 'अहिले त फिल्मको प्रचार पनि डिजिटल माध्यममै हुन्छ । अब देश सानो भयो भन्दैमा उनीहरुले पनि दर्तै गर्न नहुने भन्ने हुँदैन । उनीहरुले पनि हामीलाई कम आँक्नु भएन । हामीले पनि जतिसक्दो चाँडै पहल गर्नुपर्छ । यो एउटा समस्या हो यसलाई समाधान गर्नुपर्छ सरकारले,' हरिवंशले भने ।
'द भ्वोइस अफ नेपाल सिजन १'का विजेता एवं गायक सिडी विजय अधिकारीले पनि सामाजिक सञ्जाल फेसबुक बन्द हुँदा २५ म्यूजिक भिडियो अलपत्र पर्ने भन्दै चिन्ता व्यक्त गरे । यस्तो निर्णयले संगीत क्षेत्रमै पनि असर गर्ने अधिकारीको भनाइ छ ।
कलाकारका लागि पछिल्लो समय सामाजिक सञ्जाल नै बलियो बन्दै आएको हुँदा यसले संगीत क्षेत्रसँग सम्बन्धितहरुलाई प्रभाव पार्ने सिडीको विचार छ । उनका अनुसार पहिला गीत बजारमा ल्याउन गाह्रो थियो । कुनै कम्पनीलाई गुहार्नु पर्थ्यो । तर, सामाजिक सञ्जालको विकाससँगै त्यो केही निश्चित कम्पनीहरुको 'मनोपोली' हराएको थियो । तर, सरकारको यस्तो निर्णयले फेरि त्यस्ता विषयलाई प्रसय दिने पनि सिडी बताउँछन् । 'अहिले त मिहिनेत गर्ने कलाकारका लागि सामाजिक सञ्जाल बलियो माध्यम बन्दै आएको छ । अहिलेको युगमा यस्तो प्लेटफर्म नै बन्द हुनु हामीजस्ता कलाकारका लागि ठूलै धक्का हो,'सिडीले भने ।
सिडीले अहिलेसम्म २५ गीतमा ५० लाखभन्दा बढीको लगानी गरेका छन् । उनलाई अहिले त्यही लगानीको चिन्ता छ । यो निर्णयले आर्थिक भारसहित आम्दानी पनि बन्द गराइदिने भयो । यो त गाह्रै विषय हो,' सिडीले भने, 'हामी कलाकारले सहजै गीत संगीतका लागि यो प्लेटफर्म प्रयोग गर्दै आएका थियौं । अब दर्ता भइदियोस्, प्रतिक्षा गर्नुको विकल्प छैन ।' सिडीले नयाँ गीतहरु करिब २ लाख सब्सक्राइबर रहेको युट्युबबाट सार्वजनिक गराउँदै आएका थिए । युट्युबबाटै ५० प्रतिशत आर्थिक आधार पाउँदै आएका थिए । तर, त्यसमै पनि धक्का लागेको उनी सुनाउँछन् ।
कलाकार लुनिभा तुलाधरले पनि हालै युट्युबमा आफ्नो चर्चित कार्यक्रमको नयाँ सो सार्वजनिक गरेका थिए । पवनकली अनलाइन शीर्षकको युट्युब च्यानलबाट कलाकारसँगको अन्तर्वार्ताका तीन एपिसोड सार्वजनिक गरेका थिए । पवनकली शैलीमै सार्वजनिक गरिएको यो कन्टेन्टले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको यो अवस्थामा युट्युब बन्द हुँदा उनी चिन्तित छिन् ।
सामाजिक सञ्जाल बन्द हुनु, सर्वसाधरणको अभिव्यक्ति स्वतन्त्रतामाथि हनन भएको लुनिभा सुनाउँछिन् । 'हामी देशलाई पछाडि धकेल्दै पो छौं कि भन्ने ? प्रश्न हो । हामीले युट्युबबाट सो चलाएर कमाएजस्तै यो निर्णयबाट सरकारले कमाउने सोचेको त होइन ? मलाई त एकदम दु:ख लागेको छ,' लुनिभाले भनिन्, 'मेरो धेरै आफन्तका परिवार विदेशमा छन् । जसको छोराछोरी विदेशमा छन्, उनीहरुले आफ्ना छोराछोरीसँग कसरी सम्बन्ध राख्ने ? पहिलाजस्तै पैसा तिरेर फोन गर्नुपर्ने अवस्था त आउने होइन ? त्यो त एकदमै महँगो हुन्छ ।'
सामाजिक सञ्जाल नहुनु स्वतन्त्रता खोसिनजस्तै भएको लुनिभाको तर्क छ । 'हामी प्रजातान्त्रिक अभ्यासमा छौं भन्नु त लाजको विषय भयो नि ! यो निर्णय त अभिव्यक्ति स्वतन्त्रता नै नहुनु हो । संचार नहुनु त हामी पछाडि धकेलिनु हो । फेरि देशलाई कति वर्षपछाडि धकेल्ने हो,' लुनिभाले भनिन्, 'कतिको व्यापार यसमै समाहित छ, यसले त देशलाई आर्थिक रुपले पनि पछाडि धकेल्छ । यो निर्णय देशको एकदमै नराम्रो निर्णय हो । देशले यो समस्या उहिल्यै समाधान गर्न सक्थ्यो । २५ वटा प्लेटफर्म बन्द गर्नु त राजा ज्ञानेन्द्रले संचार बन्द गर्न खोजेको जस्तै भएन ?' लुनिभा यो निर्णयले आफ्नो 'पवनकली इन पैजामा' सोलाई नै यो निर्णयले असर पारेको बताउँछिन् ।
अभिनेता दयाहाङ राई सरकारको यो निर्णय निकै खराब भएको धारणा राख्छन् । यो निर्णयले फिल्म क्षेत्रको व्यापारदेखि संगीतलाई निकै असर पार्ने दयाहाङको भनाइ छ । 'चलनचल्तीको हिसाबले अहिले नेपाली फिल्मको प्रचारप्रसार फेसबुकमै हुन्छ । युट्युबले त फिल्म र संगीतलाई ठूलो आकाशमा पुर्याइरहेको थियो । त्यसले यो क्षेत्रलाई ठूलै क्षति पुग्छ,' राईले भने, 'यो खराब निर्णय हो । तत्काल वैकल्पिक बाटो खोज्न पनि सकिँदैन । हो, कला क्षेत्र सिर्जनशील छ, तर वैकल्पिक बाटो खोज्न समय लाग्छ ।'
दसैं लक्षित केही फिल्मलाई सरकारको यो निर्णयले असर पर्ने देखिन्छ । दयाकै फिल्म 'जारी २'को ट्रेलर भोलितिर युट्युबमा सार्वजनिक गर्ने तयारी थियो । फिल्म प्रदर्शन अगाडिको सबैभन्दा महत्त्वपूर्ण प्रचार सामग्री नै हो, ट्रेलर । तर, यो टोलीलाई अहिले ट्रेलर कहाँ सार्वजनिक गर्ने ? अलमल भएको छ । पछिल्लो समय फिल्म क्षेत्रको व्यापार सामाजिक सञ्जालले पनि निर्धारण गर्दै आइरहेको थियो ।
'सामाजिक सञ्जालको विधेयक जहाँ अड्किएको छ, त्यो पारित गर्नु पर्यो । कानुन बनाउन छाडेर अन्त लाग्नु भएन,' दयाले भने । दया मात्रै होइन यो दसैं लक्षित गर्दै करिब ४ नेपाली फिल्मले आफ्नो प्रदर्शन तोकिसक्यो । कति फिल्म अन्तिम प्रचारको समयमा थियो । तर, सामाजिक सञ्जालन नै नरहने भएपछि यी फिल्मको प्रदर्शन के होला ? फिल्मप्रेमीमा यो प्रश्न उठेको छ ।
