पारलैङ्गिक महिलाको कथामा आधारित यो फिल्मले गम्भीर विषय उठाए पनि पटकथाको कमजोरीले विषयको गहिराईमा पुग्न सकेन।
What you should know
काठमाडौँ — निर्देशकसँग आफ्नो फिल्ममा दर्शक बाँध्ने गजब्बको तत्त्व हुन्छ । मुख्य पात्रको एउटा ठूलै सपना/लक्ष्य हुन्छ । त्यो लक्ष्यसम्म पुग्न उक्त पात्रले संघर्षका थुप्रै पहाड उक्लनुपर्ने हुन्छ । तर, ती पहाड सजिलै उक्लन सकिने किसिमका हुँदैनन् । त्यसैले जब-जब पात्रले आफ्नो लक्ष्य प्राप्तिका लागि यस्ता पहाडहरू उक्लन सङ्घर्ष गर्दै जान्छन्, दर्शकलाई लाग्छ- ओहो !
यो पात्र सजिलै लक्ष्यसम्म पुगिदिए हुन्थ्यो । अथवा हामीलाई लाग्छ, यो पात्रले दुःखका पहाड उक्लँदा ठेस र हुन्डरी सामना गर्न नपरे, कति काइदा ! तर, सोचेजस्तो कहाँ हुन्छ र ? पात्रले यसरी एकपछि अर्को सङ्घर्ष गरिरहँदा दर्शकमा अब के होला भन्ने भइरहन्छ ? कथा वाचनको यही शैली पछ्याउन नसक्दा 'गुन्योचोलो : द ड्रेस'लाई दर्शकको ध्यान तान्न हम्मेहम्मे पर्छ ।
नेपाली फिल्ममा अहिले पनि महिला, दलित, यौनिक तथा अल्पसङ्ख्यक समुदायको 'मिस रिप्रिजेन्टेसन' हुँदै आएको छ । मधेशी चरित्र भए, पानीपुरी बेचेको या त, अनुहारमा कालोमोसो दलेको पात्र देखाइन्छ । महिला चरित्र चित्रणका सवालमा त अझै पनि महिलालाई विचरी, कमजोर, रुन्चे, भान्सातिरै अल्झिएको चरित्र दिइन्छ । अथवा हिरोलाई सहयोग गर्ने सहयोगी चरित्रमा मात्रै देखाइन्छ । यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई त सधैँ दर्शक हँसाउनका लागि मात्रै फिल्ममा प्रयोग गर्दै आइरहेको छ ।
त्यस अर्थमा यस्तो जटिल विषयमाथि फिल्म बनाउनु नै, निर्देशक समुन्द्र भट्टले चालेको बलियो कदम हो । फिल्ममा समुन्द्रले यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई हाँसोको पात्र नभई फिल्मको मुख्य भूमिका दिएका छन् ।
यौनिक तथा अल्पसङ्ख्यक समुदायले भोग्दै आएको पीडा, सङ्घर्ष र उनीहरूका जीवन देखाउन, फिल्ममा पार लैङ्गिक महिला देखाइएको छ । पुरुष शरीरमा जन्मिएका देव थापा आखिर कसरी पार लैङ्गिक महिला बन्छन् ? कर्णेल बनाउन चाहने बुवाको सपनाबीच गुलाबी बन्न देव थापाले परिवार, समाज र आफन्तसँग कस्तो सङ्घर्ष गर्नुपर्छ ? 'गुन्योचोलो: द ड्रेस'मा पार लैङ्गिक महिला बनेका गुलाबीले घरदेखि पर काठमाडौँमा आफ्नो यौनिक पहिचानसहित बाँच्न, के कस्ता अवस्थाको सामना गर्छन्? भन्ने कथा समावेश छ ।
तर, सतही पटकथाले यौनिक तथा अल्पसङ्ख्यक समुदायको यस्तो गम्भीर मुद्दाको गहिराइमा पुर्याउँदैन । फिल्मले सतही रूपमै उनीहरूका मुद्दालाई पस्केको छ । वास्तविक जीवनमा अहिले पनि कयौँ गुलाबीहरूले यौनिक पहिचानसहित बाँच्न निकै सङ्घर्ष गर्नु परिरहेको छ । उनीहरू चाँडै परिवारमा खुल्दैनन्, कारण परिवारले अझै पनि त्यस्तो वातावरण बनाइदिएको छैन । त्यस अर्थमा उनीहरूको सङ्घर्ष आफैभित्रको अन्तरमनमा मात्रै नभई, परिवार, समाज अनि यो समुदायलाई हेर्ने क्रूर दृष्टिकोणसँग छ ।
तर, फिल्मले उनीहरूले भोग्दै आएको संघर्षलाई देखाउन सक्दैन । जब की २ घण्टा लामो फिल्ममा त उनीहरूले भोग्दै आएको दुखाई, चोटलाई देखाउने सक्ने शक्ति हुन्छ, त्यो पनि हामीलाई झकझकाउन सकिने किसिमले ! तर, फिल्मको लेखन नै फितलो हुँदा, विषयवस्तुले पस्कन सक्ने गम्भीर मुद्दा प्रस्तुत गर्न यो फिल्म चुकेको छ । यस किसिमको संवेदनशील विषय उठाउँदा, अध्ययन अनुसन्धान र विषयवस्तुप्रतिको संवेदनशीलतामा ध्यान पुर्याइएको भए, विरलै बन्ने यस्तो फिल्म कालान्तरसम्म सम्झिरहन सकिने किसिमको बन्ने थियो । तर, यो मौका यो पटक समुन्द्रको हातबाट छुटेको छ !
उदाहरणका लागि, फिल्मको लामो समय गुलाबी र उनको परिवार वरपर नै घुमिरहन्छ । गुलाबीले यौनिक पहिचानसहित बाँच्न खोज्दा परिवारमा विशेष त बुवाबाट कस्ता अवहेलना, तिरस्कार र विरोध हुन्छ ? त्यही कुरालाई स्थापित गर्न लामो समय खर्चिएको छ । जब कि परिवारको यस्तै तिरस्कारबीच यौनिक तथा अल्पसङ्ख्यक समुदायले कस्ता उकुसमुकुसपूर्ण जीवन बाँच्छन् भन्ने देखाउन केही दृश्य नै काफी हुन्थ्यो । फेरि यो फिल्ममा मुख्य पात्रले खासै सङ्घर्ष नै गरेकै देखाइँदैन । परिवारको तिरस्कार र अवहेलनाबीच त गुलाबीले आफ्नो यौनिक पहिचानका लागि सङ्घर्ष गर्नुपर्ने हो । उनले आफ्नो यौनिक पहिचानका लागि सङ्घर्ष गरिएको देखाइएको भए पो दर्शक फिल्ममा बाँधिरहन्थे ।
तर, यो फिल्ममा त गुलाबीले सबै कुरा सहजै पाउँछन् । बुवाको करकाप, अवहेलनाबाट जोगाउन आमाले गुलाबीलाई काठमाडौँ पठाउँछन् । काठमाडौँमा पनि उनले खासै सङ्घर्ष गर्दैनन् । त्यहाँ पनि सजिलै शीतल चरित्रसँग ठोक्किन्छन् । काठमाडौँको बसाई र प्रेमी इन्द्रसँगको प्रेमकै लागि पनि यो पात्रले खासै केही गर्नै पर्दैन । फिल्मको मुख्य पात्रले नै बिना सङ्घर्ष सबै कुरा सहजै प्राप्त गर्न थाल्यो भने के हुन्छ ? त्यस्तो कथा वाचनले दर्शकको ध्यान तान्दैन । अनि, हलमा दर्शकको हलचल सुरु हुन्छ, स्क्रिनबाट ध्यान अन्त मोडिन्छ !
यो फिल्ममा साउन्डको प्रयोग चर्को छैन, यो नै फिल्मको अर्को सबल पक्ष हो । पात्रको मूड अनि परिस्थिति अनुसारकै साउन्ड फिल्ममा प्रयोग छन् । केही दृश्यमा बाहेक अधिकांशमा संवादमै पनि सन्तुलन मिलेको छ । 'यो समाजले कि त केटालाई काम दिन्छ, कि त केटीलाई', शीतलले बोल्ने संवाद सशक्त सुनिन्छ ।
सञ्चिता लुइँटेलजस्ता अभिनेत्रीहरूलाई फेरि पर्दामा फर्काउने समुन्द्रको यो प्रयास पनि प्रशंसनीय नै छ । लामो समयपछि पर्दामा देखिएकी सञ्चिता फिल्ममा गुलाबीको आमाको भूमिकामा देखिएकी छन् । सन्तानको फरक पहिचानमै पनि खुसी हुने आमाको भूमिकामा देखिएकी सञ्चिताको यो चरित्र फिल्मको अर्को प्रमुख चरित्र हो । तर, धेरै ठाउँमा यो चरित्र 'लाउड' लाग्छन् । सुशील सिटौला र नाजिर हुसेनको सन्तुलित अभिनयबीच बुवा र आमा बनेका चरित्र भने आवश्यकताभन्दा बढी नै 'लाउड' सुनिन्छन् ।
यो फिल्ममा अभिनेता नाजिर हुसेनको गज्जबको अभिनय देख्न पाइन्छ । फिल्मको कथा वाचन मा देखिएका यस्ता कमजोरीबीच पनि दर्शक 'गुन्योचोलो'मा बाँधिरहन, नाजिरको अभिनयले महत्त्वपूर्ण भूमिका खेल्छ । फिल्मको सुरुदेखि अन्तिमसम्मै नाजिरले गुलाबी चरित्रलाई आफ्ना हाउभाउ, व्यवहारमार्फत दुरुस्तै पर्दामा बाँचिदिएका छन् ।
बस्दा, हिँड्दा, बोल्दा नाजिरले पार लैङ्गिक महिलाका स-साना पक्षलाई पक्रेका छन् । फिल्मभरि उनको शरीर पुरुष शरीरजस्तो देखिन्न । त्यो चरित्रमा आएको परिवर्तन उनको शरीरमै पनि देखिँदै जान्छ । चरित्र चित्रणमा नाजिरले गरेको मेहनत नै हो यो । फिल्मभरि नाजिर, नाजिरजस्ता देखिएका छैनन् । महिला देखिएका छन्, गुलाबी देखिएका छन् । नाजिरलाई यस किसिमको भूमिका दिने जोखिमदेखि यस्तो जटिल विषय माथि फिल्म बनाउने हिम्मतका लागि समुन्द्र भट्ट धन्यवादका पात्र पक्कै हुन् ।
