फिल्मको कन्सेप्टदेखि वितरणसम्म प्रड्युसरको भूमिकाबारे जानकारी दिने वर्कशप सुरु भएको छ।
What you should know
काठमाडौँ — चलचित्र ल्याबले नेपालमा २ हप्ताको 'प्रड्युसर्स वर्कशप' गर्ने भएको छ । भदौ २३ देखि असोज ३ सम्म चल्ने यो वर्कशप विशेष त ‘प्रड्युसर’ लक्षित हो ।
नेपालमा अहिले पनि 'प्रड्युसर्स'लाई फिल्ममा लगानी गर्ने व्यक्तिका रुपमा बुझ्ने गरिन्छ । तर, 'प्रड्युसर्स'ले फिल्मको कन्सेप्टदेखि वितरणसम्मको सबै भार बोक्नुपर्ने हुँदा यसका विभिन्न पक्षबारे जानकारी दिन, सिकाउन र अनुभव आदान/प्रदान गर्दै मेन्टरशिप प्रदान गर्ने उदेश्यले यो वर्कशप हुँदैछ ।
'प्रड्युसर' भन्ने बित्तिकै लगानीकर्ता ठान्ने सोचलाई भत्काउँदै यो वर्कशपले फिल्ममा निर्माताले गर्नुपरे गम्भिर जिम्मेवारीबारे मार्ग निर्देशन गर्ने लक्ष्य बोकेको छ । यो वर्कशपमा १० ओटा कक्षा हुनेछन् । प्रवीण कुमार रावत, सुशान्त श्रेष्ठ र मेहका लुइँटेल वर्कशपका प्रशिक्षक(मेन्टर) हुन् । मेहकाले कोलम्बिया युनिभर्सिटीबाट ‘क्रियटिभ प्रडुसिङ’मा स्नातकोत्तर गरेकी हुन् । सुशान्त श्रेष्ठ र प्रवीण कुमार रावत नेपाली फिल्मका सक्रिय निर्माता हुन् ।
वर्कशपका अन्य मेन्टरबारे आयोजकले विस्तारै जानकारी दिने बताएको छ । अहिलेसम्म नेपालबाट अनुप पौडेल, राजन कठेत छन् भने अन्तर्राष्ट्रिय तर्फबाट कान्स सर्ट फिल्म पाल्मे डोर विजेता तांग यी रहेकी छिन् । यो वर्कशप निर्देशक र प्रड्युसर दुबै लक्षित गर्दै आयोजना गरिने भएको हो । लघु फिल्म र फिचर फिल्म बनाएका नेपाली सबैले वर्कशपमा सहभागिता जनाउन पाउनेछन् । डकुमेन्ट्री फिल्मकर्मीले पनि वर्कशपमा सहभागी हुन पाउने बताइएको छ । त्यस्तै, यो वर्कशपमा वितरण सम्बन्धी एउटा कक्षा हुनेछ ।
'चलचित्र ल्याब'ले यो वर्कशपपछि छायांकन, पटकथा लेखन, प्रोडक्सन डिजाइनलगायतका विभिन्न विषयमा यसरी कार्यशाला गर्ने योजना बनाएको छ । साउथ एसियाका युवा फिल्मकर्मीलाई हौसला दिन ल्याबले यस किसिमको कार्यक्रमहरु गर्ने भएको ल्याबका प्रवीण कुमार रावतले जनाए । उनका अनुसार अहिले ल्याबसँग सहकार्य गर्न बंगलादेशले पनि इच्छा देखाउँदै त्यहाँ पनि यसै किसिमको कार्यशाला अगाडि बढाइसकेको छ ।
'चलचित्र ल्याबले यसरी विभिन्न देशसँग सहकार्य गर्दै अगाडि बढ्ने सोचेका छौं । अहिले बंगलादेशसहित २ देशसँग कुरा चलिरहेको छ । हामी निकै उत्साहित छौं,'प्रवीणले भने,'यो वर्कशपमा प्रड्युसिङमा इच्छुक सबैले आवेदन दिन पाउनुहुनेछ ।'
