हिल्स लगाउन डराउने लुनाले फिलिपिन्समा तालिम लिएर मिस नेपाल २०२५ को उपाधि जित्न सफल भइन् ।
काठमाडौँ — तपाईंलाई थाहा छ ? मिस नेपाल २०२५ मा आउनुअघि लुना लुइँटेललाई के कुराको सबैभन्दा धेरै डर थियो ?
मिस नेपाल २०२५ बनिसकेकी लुनाले भर्खरै कान्तिपुरलाई दिएको अन्तरवार्तामा उनले त्यो डरबारे खुलाएकी छन् । लुनाले भनेअनुसार उनलाई मिस नेपालको प्रतियोगीले लगाउने 'हिल'सँग धेरै डर थियो । कारण उनी प्याटप्याटे चप्पलमा आफूलाई सहज अनुभव गर्थिन् । सन् २०१५ मा मिस टिनको उपविजेता बनिसकेपछि लुनाले कहिल्यै हिल जुत्ता लगाइनन् ।
चप्पल बजाउँदै हिँड्न उनलाई रमाइलो लाग्थ्यो । जमिनमा सिधा टेकिने जुत्ता नै उनको पहिलो रोजाई बन्थ्यो । साथीहरुको लहैलहैमा मिस टिनमा सहभागी भइन् । त्यो मञ्चमा हिल लगाएर हिँडिसकेपछि कहिल्यै उनको रोजाईमा हिल परेन । त्यसैले उनले लामो समय हिलमा हिँड्न सिकिन् ।
'अब पेजेन्ट्रीमा आउने भनेपछि कसरी आउने ? कसरी हिँड्ने भनेर तयारी गरें । फिलिपिन्सको ट्रेनरसँग पनि तालिम पनि लिएँ,'लुनाले भनिन् । फिलिपिन्समा तालिमका क्रममा उनले स्कुबा डाइभिङको लाइसेन्ससमेत लिइन् । त्यतिबेला उनको खुट्टामा चोट लाग्यो । सर्जरी नै गर्नु पर्यो । त्यतिबेला लुनालाई लागेको थियो -अब म मिस नेपालमा हिल्स लगाएर हिँड्न सक्दिनँ । तर, उनले कोसिस गरिन् । परिवारले पनि साथ दिए ।
त्यसपछि मिस नेपाल २०२५ मा सहभागी भइन् । अस्ट्रेलियामा हुँदा हिलमा हिँड्न निरन्तर अभ्यास गरिन् । हिलमा हिँड्न डराउने उनै लुनाले शनिबार गोदावरी सनराइज कन्भेनसन सेन्टरमा आयोजित मिस नेपालको ग्रान्ड फिनालेमा निर्धक्क हिल 'वाक' गरिन् । अनि, मिस नेपालको ताज पनि उनै लुनाले जितिन् ।
