दिनेश राउतले टुँडिखेलमा नयाँ फिल्म 'कुमारी'को घोषणा गर्दै अबिशेक खड्का र आकृति राजभन्डारीलाई परिचित गराए।
काठमाडौँ — निर्देशक दिनेश राउत फिल्ममा आफूलाई प्रयोग गर्न रुचाउँछन् । उनी कहिले विशुद्ध प्रेम कथा भन्छन् त कहिले सामाजिक र राजनीतिक मुद्दालाई केन्द्रमा राख्छन् ।
‘प्रसाद’, ‘प्रकाश’, ‘पूजार सार्की’ र ‘महाभोज’पछि उनी पुनः लभस्टोरीमा फर्किएका छन् ।
यस पटक उनले युवापुस्ताको प्रेमकथालाई सम्बोधन गर्दै छन् । गत शुक्रबार टुँडिखेलमा दिनेशले नयाँ फिल्म ‘कुमारी’ घोषणा गरेका छन् । फिल्ममा पछिल्लो समय मल्टिस्टार कास्ट देखाउने दिनेशले यस पटक फरक बाटो अपनाए ।
उनले यो फिल्ममार्फत नयाँ अनुहारहरू अविशेक खड्का र आकृति राजभण्डारीलाई परिचित गराउँदै छन् ।
अविशेक र आकृतिको सामाजिक सञ्जालमा छुट्टै फ्यान फलोअर्स छन् । ‘आइ एम सरी’ बाट निर्देशन सुरु गरेका राउतले, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथामा आधारित फिल्मबाटै आफूलाई स्थापित गराएका थिए । अब को प्रेमकथालाई केही फरक तरिकाले भन्ने सोचमा छन् दिनेश ।
यो कथालाई विकास सुवेदीले लेखेका छन् । दिनेशका पछिल्ला फिल्महरूमा विकासकै पटकथा देख्न सकिन्छ । फिल्ममा अविशेक र आकृतिसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहार लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
चलचित्रको संगीत केहरसिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले गर्नेछन् । निर्माण टिम यही हप्ताबाट फ्लोरमा जाने निर्देशक राउतले बताएका छन् । फिल्ममा सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहनेछ ।
