महिलाको परिचयलाई पतिसँग जोडेर हेर्ने महाराजको दृष्टिकोणले तत्काल सिरुमारानीलाई प्रश्न गर्छ- तिमी को हौ ?
What you should know
काठमाडौँ — प्राचीन ग्रीक नाटक 'इडिपस रेक्स'मा एउटा अजिबको घटना छ । इडिपस जन्मनुअघि नै भविष्यवाणी गरिएको हुन्छ-उसले आफ्नो पितालाई मारेर आमासँग बिहे गर्छ । त्यसैले जन्मनेबित्तिकै इडिपसलाई राजा लायसले दरबारभन्दा निकै पर मर्नका लागि छाडिदिन्छन् ।
तर, नियतिको खेललाई कसले रोक्न सक्नु ? बालक इडिपसलाई गोठालोले बचाउँछ, अनि उनी यही भविष्यवाणीबाट बच्न सधैं भागिरहन्छन् ।
थेब्स राज्यमा भएका राजालाई लाग्छ, इडिपस नै मरेपछि भविष्यवाणी त्यसै टर्यो ! समय बित्दै जाँदा थेब्समा एउटा अनौठो समस्या देखापर्छ । त्यही समस्या सुल्झ्याउँदै इडिपस त्यहाँका राजा घोषित हुन्छन् अनि रानी जोकास्टासँग बिहे गर्छन् ।
सोफोक्लिजद्वारा लिखित यो नाटकको वियोग निकै दर्दनाक छ । इडिपस नै आफ्नो छोरा हो भन्ने सत्य थाहा पाउनसाथ रानी जोकास्टाले आत्महत्या गर्छिन् । आफूलाई जन्माउने आमालाई पत्नी स्वीकारेको कुरा इडिपसले पनि सहन सक्दैन, त्यसैले भविष्यवाणी पूरा भएको थाहा पाउनसाथ झिरले दुवै आँखा फुटाउँछन् ।
'इडिपक्स रेक्स'मा झैं यस्तै सशक्त वियोग सम्झाउने नाटक सरुभक्तले पनि दुई दशकअघि लेखेका थिए । नाटकको नाम हो –'सिरुमारानी' ।
अनुप बरालको निर्देशनमा बनेको यही नाटकबाट अभिनेता दयाहाङ राईले २३ वर्षअघि अभिनय थालेका थिए । नाटक मञ्चन भएको १२ वर्षपछि मण्डला नाटकघरमा दयाहाङकै निर्देशनमा यो नाटक फेरि मञ्चन भयो । अनामनगरको मण्डलामा मञ्चन भएको १० वर्षपछि यो नाटक थापागाउँस्थित मण्डलामा पुन: आइपुगेको छ ।
रंगकर्मी अनुप न्यौपाने र सुमित्रा पेहिमको निर्देशनले फेरि 'सिरुमारानी'ले भोगेको वियोग मञ्चमा सजीव बन्छ । कोरसको कथावाचन, उस्तै लाग्ने वियोग, भविष्यवाणीदेखि नाटकले उठाएको मुद्दाले सरुभक्तको लेखन ग्रिक क्लासिक नाटक 'इडिपस रेक्स'को छेउ पुर्याउँछ । बलियो पक्ष त पुरुषद्वारा लिखित यो नाटकमा महिला अस्तित्त्वमाथिको गहिरो चेत अनि पितृसत्ताप्रतिको चर्को व्यंग्य भेटिन्छ ।
नाटकको एउटा दृश्य केलाऔं ।
मञ्चको बीच्चमा उभिएकी छन्, सिरुमारानी । दायाँ र बायाँतिर छन्, राजा प्रेमआदित्य चक्रवर्ती र उनका सुपुत्र युवराज । अचम्म त युवराज, युवराजजस्ता देखिन्नन् । अनि राजा पनि राजाजस्ता छैनन् ! कारण, ब्रह्मर्षिको सहयोगमा दुईले आफ्नो उमेर जो साटेका हुन्छन् । त्यसैले बुढ्यौली उमेर युवराजलाई दिएर, राजा प्रेमआदित्य जवान देखिन्छन् । यता पिताको उमेर पाएका पितृभक्त युवराज, फूलेको दारी-कुप्रो शरीरमा राजा प्रेमआदित्य झैं देखिन्छन् । गरिब माछेको घरमा हुर्केकी सिरुमारानी तब अलमलमा पर्छिन्, जब युवराजको जवान अनुहार भएको राजा प्रेमआदित्यले नै यो भेद सबैसामु खुलाउँछन् ।
अब पर्छ, फसाद ! जवान देखिने राजासँग बिहे गरेकी सिरुमारानी बुढो देखिने युवराजलाई छोरा मान्न सक्दिनन् । न त जवान स्वरुप धारण गरेका राजालाई पति ! यही दोधारबीच उनले थाहा पाउँछिन्, यी दुई पुरुषले आफ्ना स्वार्थका लागि यौवन र वार्धक्य साटे । तर, संकट आफूले झेल्नुपरिरहेछ ।
राजालाई जवान यौवनमा दम्पती सुख प्राप्त गर्नु थियो, अनि युवराजलाई पितृभक्त देखाउँदै महान पुत्र बन्नु थियो । यी दुई पुरुषको स्वार्थले निम्त्याएको भ्रमको भुमरीमा परिएछु भन्ने थाहा पाउनेबित्तिकै नारी अस्तित्त्व बचाउन आवाज उठाउँछिन्, सिरुमारानी ।
'एक स्त्रीको विवाह पुरुषको रुप र यौवनसँग हुन्छ, मान र प्रतिष्ठासँग हुँदैन । विवाह भनेकै पुरुष र स्त्रीको रुप र यौवनबीचको अन्तरसम्बन्ध हो,' राजाको यौवन रुप भ्रम हो भन्ने जानेकी सिरुमारानीले एकदिन राजा चर्कवर्तीलाई सुनाउँछिन् । कसकी पत्नी ? कसकी आमा ? निश्चय गर्न नजान्दा सिरुमारानीको नारी अस्तित्त्व संकटमा पर्छ । आफूमाथि भएको छल सहन उनी कदापि तयार छैनन् । 'किन लोग्नेमान्छेहरु सधैं आफ्नो खुसीका लागि स्वास्नीमान्छेलाई संकटको भुमरीमा पार्छन् ? सिरुमारानीको यो प्रश्न नै नाटकले छेडेको महत्त्वपूर्ण बहस हो ।
सिरुमारानीले नारी धर्मलाई जोगाउन आफ्नो नीति आफै बनाउँछिन् । ६० को दशकमा लेखिएको यो नाटकले सिरुमारानीजस्ता सशक्त महिला चरित्रचित्रणमार्फत अस्तित्त्वका लागि गरिएको लडाइँ, अधिकार पाउन गरिएको संघर्ष प्रस्तुत गर्छ । आफूमाथि भएको अन्याय, छल अनि पुरुषस्वार्थ विपरीत गएर सिरुमारानीले चर्को आवाज निकाल्छिन् ।
नाटकमा पितृसतात्मक समाज उदांगिएको छ । महाराज चक्रवर्तीका लागि सिरुमारानीले चर्को आवाजमा बोल्नु, प्रश्न गर्नु जगहसाइँको विषय हो । खासमा महिलाले आफ्नो अधिकार खोज्नु पितृसतात्मक समाजका लागि जगहसाइँकै विषय बन्दै आएको छ । महिलाको परिचयलाई पतिसँग जोडेर हेर्ने महाराजको दृष्टिकोणले तत्काल सिरुमारानीलाई प्रश्न गर्छ- तिमी को हौ ?
महिलाको परिचय, अस्तित्त्वलाई सिमित पर्खालभित्र राखेर हेर्ने दृष्टिकोणलाई यो प्रश्नले व्यंग्य गर्छ ।
नाटकको कथा ताजा छ । इडिपसलाई झैं, ज्योतिषीले जन्मनेबित्तिकै सिरुमारानीको भविष्य कहिदिएको हुन्छ– भविष्यमा चक्रवर्ती राजासँग बिहे गर्नेबारे ! गरिब माछे त्यसै दंग । खोलामा भेटिएको सुनौलो माछाको नागिनी अवतारसँग प्रेम गरेर माछे छोरीको बाउ बनेको हुन्छ । त्यही खोला र माछाकै वरपर बितिरहेको उनको गरिबीबीच ज्योतिषीको भविष्यवाणी दु:ख भुलेर बाँच्ने मेलो बन्छ । अचानक एक दिन उनीहरुकै दैलोमा चक्रवर्ती राजा रहस्यमयी तरिकाले देखापर्छन् । यही रहस्यीमय कहानीमार्फत यो नाटकले सम्बन्धका मिहिन केस्रा केलाउँछ । जस्तै, गोरेले सिरुमारानीप्रति गर्ने साँचो प्रेम, प्रेमले डोर्याउने मुक्तिको बाटो ।
माछे र छोरीबीचको निश्चल सम्बन्ध । खोलाको किनारमा पर्खिरहने माछे प्रेम । सत्ता र शक्तिप्रतिको लोभ पनि नाटकको केन्द्रमा छ । शक्तिको उन्मादले जन्माउने लोभ, अहम राजा चर्कवर्तीको जीवनले देखाउँछ । सिरुमारानी आफैलाई पनि साम्राज्ञी हुने लोभ थियो । तर, सत्ताले सिरुमारानीको जीवनलाई कसरी गलाउँछ ? जीवनलाई कसरी खुम्च्याइदिन्छ अनि कस्ता पर्खालभित्र सीमित गराइदिन्छ भन्ने विषय प्रस्तुत छ ।
वास्तवमा नारी 'स्व'माथि लिखित निकै सशक्त नाटक हो, सिरुमारानी । 'नारीको सत्य– नारीहरु प्रतिव्रता हुँदैन्नन्, नारीव्रता हुन्छन् । र इतिहासका सबै प्रतिव्रता नारीका कथाहरु झुठ हुन्,' सिरुमारानीले नाटकको अर्को दृश्यमा बोल्ने यही संवाद उदाहरण हो । प्रेम, वियोग, परिवार, सत्ता र शक्ति थुप्रै विषय नाटकले छुन्छ ।
सुमधुर संगीत, साधारण सेट, सुन्दर प्रप्स र 'फोर्थ वाल ब्रेक' गराउने निर्देशकीयले 'सिरुमारानी'को यो युवा संस्करण बेजोड बनेको छ । कथा वाचनमा जसरी संगीत प्रयोग छ, त्यो निकै शसक्त लाग्छ । 'फरक होइन, आँसु उही त हो । छोरी उही ज्वाइँ कुन चाहिँ हो,' माछेले जवान र वृद्ध ज्वाइँबारे थाहा पाउँदा पृष्ठभूमिमा बज्ने गीतले उक्त दृश्यमा चरित्रहरुको मनोदशा प्रस्तुत गर्छ ।
'एकादेशमा…' बोलको गीत उतिकै मिठो तरिकाले प्रयोग गरिएको छ । यो नाटकमा खासै भव्य सेट छैन, तर सामान्य प्रप्समार्फत नै पौरानिक समय मञ्चमा स्थापित हुन्छ । प्रप्सले पनि त्यो समय, त्यतिबेलाको परिस्थितिमा पुर्याउन मद्दत गर्छ । विशेष त राजाले लगाउने श्रीपेच होस् या दरबारमा रानीले लगाउने पहिरन, प्रप्स र परिरनको पक्षले नाटक झनै मजबुत बनेको छ ।
मण्डला ड्रामा स्कुलका सत्रौं ब्याचका कलाकारले गरेको अभिनयले पनि नाटकमा दर्शकलाई बाँधेर राख्छ । यही नाटकमार्फत उनीहरुले अभिनयमा पहिलो कदम चालेका हन् । केही कलाकारको निकै परिपक्व अभिनयमार्फत आफूलाई मञ्चमा बलियो उभ्याएका छन् । आँखा नदेख्ने दुई दम्पती बनेका कथावाचक, ज्योत्सना घिमिरे र समीर भट्टराईले सुरुदेखि अन्तिमसम्म चरित्रलाई पक्रेर त्यसका मिहिन संवेदना समाइरहन्छन् ।
माछे बनेका सामुज्य भण्डारी, बालिका सिरु सहिष्मा खड्का, गोरे तरुण देउवा, ब्रह्मर्षिदेखि राजा र रानी बनेका कलाकारले चरित्रमार्फत आफूलाई 'नोटिस' गराउन सफल छन् ।
