सोमबार मिनिमल पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने दोस्रो फिल्मको घोषणा गरिएको हो ।
काठमाडौँ — 'बेहुली फ्रम मेघौली' का निर्देशक सजन काफ्ले र आकाश बरालले नयाँ चलचित्र 'जिरो डिग्री' बनाउने भएका छन् ।
सोमबार मिनिमल पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्र घोषणा गरिएको हो ।
चलचित्रको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा र संवाद निर्देशकद्वयले तयार पारेका छन् । 'जिरो डिग्री'को कथा सडक नभएको गाउँमा आफ्ना मातापिताको निधन हुँदा विदेशमा रहेका छोराछोरी आइपुगुन्जेलसम्म शव जोगाउन डीप फ्रिज बोकेरै गाउँमा भित्राएपछि सिर्जना हुने उथलपुथलमा केन्द्रित छ । यो चलचित्र एउटा फ्रिज गाउँसम्म पुर्याउने प्रसंग मात्र नभएर 'लाइट कमेडी' कथा पनि रहेको निर्देशकले बताए । यस चलचित्रमा अभिनेता विजय बराल मुख्य भूमिकामा देखिनेछन् ।
ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेको पोस्टरमा मध्य भागमा डीप फ्रिजको चित्र छ, जसलाई केही मानिसहरूले बोकेर खोला तारिरहेका छन् । सामान्यतया चलचित्रको पोस्टरमा कलाकारको अनुहार वा ठूलो दृश्य रहने परम्परालाई तोड्दै कथाको महत्त्वपूर्ण वस्तुलाई यहाँ केन्द्रमा राखिएको छ । चलचित्रका कार्यकारी निर्माता मोती कार्की हुन् । 'जिरो डिग्री'को छायांकन तिहारपछि सुरु हुनेछ र आगामी वर्ष प्रदर्शन गर्ने योजना छ । यसको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ । चलचित्रका गीतहरूमा अंकितबाबु अधिकारीले संगीत दिनेछन् भने युवराज काफ्लेले गीत लेख्नेछन् ।
