सगरमाथा आरोहणको पृष्ठभूमिमा आधारित यो प्रेमकथाले दर्शकलाई नयाँ अनुभव दिने वाचा गर्दैछ।
काठमाडौँ — असोज ३१ देखि प्रदर्शनमा आउने फिल्म 'जेरी अन टप' को टिजर सार्वजनिक भएको छ । अनन्या फिल्म्सबाट निर्मित फिल्मको टिजर सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।
कार्यक्रममा फिल्मका प्रमुख कलाकारहरू अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ अनि हास्य अभिनेता केदार घिमिरे 'माग्नेबुढा', अभिनेता भुवन केसी, अभिनेत्री उषा खड्गी उपस्थित थिए । सुयोग गुरुङ निर्देशित यो फिल्ममा विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रमको प्रेमकथा प्रस्तुत छ ।
सरोज न्यौपानेको प्रस्तुतिमा तयार फिल्म 'जेरी अन टप'को निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानीमा साझेदारी गरेका छन् । यो फिल्मको कथा हेमराज बिसीको हो ।
फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा रहेको यो फिल्मलाई दुलिप रेग्मीले खिचेका हुन् ।
