प्रतियोगितामा प्रथम हुने कविलाई २० हजार नगद पुरस्कार, दोस्रो र तेस्रोलाई क्रमशः १५ हजार र १० हजार नगद प्रदान गरिनेछ ।
काठमाडौँ — खालिङ राई समुदायको छाता संगठन किरात खालिङ राई उत्थान संघले खालिङ भाषामा कविता प्रतियोगिता गर्ने भएको छ । संघले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता आयोजा गर्ने भएको हो ।
आगामी असोज १० मा काठमाडौंमा प्रतियोगिता सम्पन्न गर्ने संघले जानकारी छ । आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने कविलाई २० हजार रुपैयाँ नगद प्रदान गरिनेछ । यो पुरस्कारलाई अभिनेता दयाहाङ राईले प्रायोजन गर्दैछन् ।
त्यस्तै दोस्रो हुने कविलाई समाजसेवी कुस्मा खालिङ नगद १५ हजार प्रदान गर्नेछन् । तेस्रो हुने कविलाई निर्माता आमोद राईले नगद १० हजार प्रदान गर्नेछन् ।
त्यसैगरी ७ जना उत्कृष्ट कविहरुलाई जनही ५ हजार नगदको सान्तवना पुरस्कार प्रदान गरिनेछ । सान्त्वना पुरस्कारको प्रायोजन संचारकर्मी संजय याङबाङले १० हजार (दुई जनालाई) गरेका छन् भने कवि तथा अभियन्ताहरु सुष्मा रानाहँमा, दिपा मेवाहाङ राई, गायक तथा एरेन्जर देवेश राई, निर्देशक किरण चाम्लिङ र कवि बम बानियाँले ५ हजार बराबरको पुरस्कार प्रायोजन गरेका छन् ।
संघले दोस्रो पटक मातृभाषामा कविता प्रतियोगिता आयोजना गरेको हो । 'कविता लेखनमार्फत भाषा संरक्षण गर्ने हाम्रो उद्देश्य रहेको छ,'संघका अध्यक्ष बलबहादुर खालिङ राईले भने,'भाषा संरक्षणको साथमा समाज परिवर्तन वा समुदाय र व्यक्तिको चेतना निर्माणमा कविताको भूमिका अत्यन्तै शक्तिशाली भएकाले मातृभाषामा कविता प्रतियोगिताको आयोजना सुरु गरेका हौं ।'
कविता प्रतियोगीताको निर्णायक मण्डलमा तीन जना खालिङ भाषी र बाँकी गैर खालिङ भाषि रहने जनाइएको छ ।
