‘कस्तो लाग्यो अमेरिका ?’ राजको प्रश्नमा प्रदीपले सुनाए बाल्यकालीन सपना [भिडियो]

राजबल्लभले प्रदीपसँगको संवादमार्फत 'कुरा र कथा'को थालनी गरेका छन्, जसले बाल्यकालका सपनाहरूको चर्चा गरेको छ ।

भाद्र ५, २०८२

कान्तिपुर संवाददता

'How did you like America?' Pradeep told his childhood dream [Video]

What you should know

काठमाडौँ — ‘कतिऔं पटक हो यूएस आएको ?’ हातले स्टेयरिङ घुमाइरहेका अभिनेता राजबल्लभ कोइराला अर्का अभिनेता प्रदीप खड्कालाई सोध्छन् । छेउको सिटमा बसिरहेका प्रदीप मुस्कुराउँदै भन्न थाल्छन्, 'यो सेकेन्ड टाइम हो । अघिल्लो पटक अप्रिलमा आएको थिएँ ।’

‘कस्तो लाग्यो अमेरिका ?’ राज थप प्रश्न गर्छन् । 

‘सबैजनालाई एकचोटि अमेरिका के रैछ त भन्ने ब्रान्डिङ । फिल्मको पनि ठूलो रोल होला अमेरिकालाई ब्रान्डिङ गर्न,’ प्रदीप थप्छन् । 

अभिनेता राजबल्लभले आफ्नो युट्युब च्यानलमार्फत भिडियो कार्यक्रम  ‘कुरा र कथा’को पहिलो एपिसोड सार्वजनिक गरे । एक दशकदेखि अमेरिकामा बसिरहेका राजबल्लभले प्रदीपसँगको यात्रा संवादमार्फत यसको थालनी गरेका हुन् । 

यी अभिनेताद्वय पछिल्लो फिल्म ‘एक्टर’मा एन्टागोनिस्ट र प्रोटागोनिस्टको भूमिकामा आमनेसामने थिए । धेरैपछि नेपाल फर्केका राजको ‘एक्टर’ कमब्याक फिल्म पनि थियो । त्यहीबखत उनी काठमाडौंमा कवि अवतारमा पनि ओर्लिएका थिए । उनको ‘औरा’ कवितासंग्रह पनि सार्वजनिक भएको छ ।

‘एक्टर’यता भने राजबल्लभ र प्रदीपबीचको सम्बन्ध झनै न्यायो छ । अरु बेलामा पनि घण्टौं गफिने राज र प्रदीपले यसपटकको गफलाई अर्काइभ गर्ने सोच बनाए । उनीहरूले बाल्यकालका विषयमा संवाद गरे । सपनाका विषयमा संवाद गरे । बाल्यकालीन सपनाको  प्रसँग झिक्दै राजबल्लभ प्रदीपलाई सुनाउँछन् ।

७ कक्षामा पढ्दा शिक्षकले विद्यार्थीहरूलाई सपनाका बारेमा सोधेका थिए । राज र उनका अर्का साथीले भनेका थिए, ‘एक्टर बन्ने ।’ त्यसपछि शिक्षकले भनेका कुरा राज सुनाउँछन्, ‘ए भनेपछि ठूलो भएपछि तिमीहरूलाई हामी पोस्टरमा देख्न पाउँछौँ ।’

राजबल्लभझैं प्रदीप पनि आफ्नो बाल्यकालका सपनातिर फर्किन्छन् । ७ कक्षातिर पढ्दा प्रदीपले नेपाल वान च्यानलमा कार्यक्रम चलाउने अवसर पाएका रहेछन् । केवलमा मात्र आउने त्यो टीभीको कार्य्रक्रम प्रदीप स्वयम्‌ले हेर्न नपाउँदा रहेछन् ।

१५ मिनेटको कार्यक्रममा प्रदीप प्र्यांक गर्थे । ‘एउटा पार्टीमा जाँदा मेरै उमेरकाहरू आएर फोटो खिच्ने भने । उनीहरूको घरमा त्यो च्यानल लाग्ने रहेछ । उनीहरूले मलाई टीभीमा आएको देखेर चिनेको रहेछ । कसैले चिन्दा कस्तो राम्रो लागेको । सबैले चिन्ने काम गर्नपर्ने रहेछ जस्तो फिलिङ्स भएको थियो,’ प्रदीप सुनाउँछन् ।

बाल्यकालमा प्रदीप आफूले बा आमालाई बच्चाबच्ची कसरी टिभी भित्र छिर्छन् भनेर प्रश्न पनि गर्ने रहेछन् ।

सबैले चिनिने मान्छे बन्नुपर्छ भन्ने कुराचाहिँ प्रदीलाई १० कक्षातिर पढ्दाताका लागेको रहेछ । त्यतिबेला एउटा कन्सर्टमा पुग्दा उनी भिडतर्फ थिए । स्टेजमा चढिरहेका मान्छेहरूतर्फ सबैले हेरिरहेका थिए । ‘म भिडमा किन छु, स्टेजमा किन छैन  त ?’ प्रदीपलाई लागेको रहेछ ।

सबैले हुटिङ गर्ने बन्नुपर्छ भनेर लागिरहँदा पनि प्रदीपलाई पछिसम्म हिरो बन्छु भन्ने कुरा लागेको रहेनछ ।

अमेरिकाको सडकमा गुड्दै वार्ता गरेका दुई एक्टरको संवाद युट्युबमा २२ मिनेटजति कैद छ ।

‘हामी रिलिज गर्ने कि नगर्ने दुविधामा थियौँ । डिजिटल दुनयाँमा हामी कतै न कतै एक्लो छौँ । प्रविधिले हामीलाई जोडेको छ । प्रविधिसँगै गफहरू पनि भए, कथाहरू पनि भए, कुराहरू पनि भए भने अझ हामी समीपमा हुन्छौँ कि,’ राजबल्लभ सुनाउँछन् ।

राजबल्लभले अब अमेरिकामा भएका वा त्यहाँ पुगेका कलाकार वा व्यक्तित्वहरूसँग ‘कुरा र कथा’को शृङ्खला अगाडि बढाउने बताएका छन् ।   

कान्तिपुर संवाददता

Link copied successfully