भोजपुरी शैलीको 'लड्की गोरी' 'डान्सिङ नम्बर' गीत हो । गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ ।
काठमाडौँ — सार्वजनिक भएको २ दिनमै 'लड्की गोरी'बोलको गीतले १० लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ । फिल्म 'अभिमन्यु : च्याप्टर–१'को यो गीतलाई निर्माण टिमले शुक्रबार मात्रै सार्वजनिक गरेको थियो ।
भोजपुरी शैलीको 'लड्की गोरी' 'डान्सिङ नम्बर' गीत हो । गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ । विषम आचार्यको संगीत भरेको यो गीतमा जुना सुन्दासलगायत अभिनेता कामेश्वर चौरसियादेखि लक्ष्मी बर्देवा देखिन्छन् । गीतको भिडियोमा रोहन विश्वकर्माको कोरियोग्राफी छ ।
'अभिमन्यु : च्याप्टर–१' भने भदौ २७ देखि प्रदर्शनमा आउँदैछ । फिल्मको हिन्दी भर्सन असोज ६ मा प्रदर्शना ल्याउने तयारी छ । फिल्ममा पैसाको प्रलोभनले चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा छ । फिल्ममा कामेश्वरसँगै सरिता गिरी, गौमाया गुरुङ, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्मित फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । यो फिल्ममा मनोज श्रेष्ठ भीएफएक्स, सुप्रिम पराजुलीको रंग सम्योजन, मदन घिमिरेको सम्पादन छ । फिल्मलाई शरद महतोले खिचेका हुन् ।
