टिकटकमा छाएको 'चिपक चिपक' र 'बरी लै' : ७ वर्षअघि फ्लप, अहिले हिट

केही सिर्जनाका लागि टिकटक बरदान सावित भएको छ । नाजिर र केकी अभिनित 'चिपक चिपक' गीत यसैको उदाहरण हो ।

भाद्र ३, २०८२

रीना मोक्तान

'Chipak Chipak' and 'Bari Lai' hit Tiktok: Flop 7 years ago, hit now

What you should know

काठमाडौँ — अभिनेता नाजिर हुसेनलाई एक साताअघि टिकटकमा कसैले मेन्सन गरे, जहाँ 'चिपक चिपक'बोलको गीतमा नाचिरहेको भिडियो थियो । यसरी मेन्सन गर्नेहरु इन्स्टाग्राममा पनि बढे । सबैले एउटै नृत्यको हुकलाई पछ्याउँदै भिडियो बनाएका रहेछन् ।

चट्ट ब्याग बोकेर 'चिपक चिपक'का हरेक शब्दमा दुई युवाले गरेको नृत्यलाई ५ लाखभन्दा बढीले टिकटकमा हेरिसकेछन् । गीतको 'चोर चोर चोरले, चोरी लान सक्दैन'भन्ने पंक्तिमाथि गीत बनाउनेहरु हजारौंको संख्यामा थपिसकेको देखेपछि नाजिर दंग परे । ७ वर्षअघिको गीत अचानक यसरी चर्चामा आउला भन्ने नाजिरले सोचेका थिएनन् । 

यम थापाको निर्देशनमा बनेको फिल्म 'राज्जा रानी' हलमा लाग्दा यो गीतको चर्चा यसरी चुलिएको थिएन । आफू अभिनित फिल्मको गीत चर्चामा आउँदा नाजिर अचम्मित छन् । खासमा अहिले उनी 'गुन्योचोलो : द ड्रेस'को प्रचारमा व्यस्त छन् । तर, टिकटकले फेरि ७ वर्षअघि यो गीत छायांकनका दिनमा नाजिरलाई पुर्‍याइरहेको छ ।

रमाइलो शैलीको यो गीत ७ वर्षपछि ब्युँतेको देख्दा नाजिरलाई सुन्दर सिर्जनाको आयु कहिल्यै कम नहुने अनुभव भएको छ । 'अचम्म लाग्यो नि यो गीतमाथि टिकटक र रिल्स बनाएको देख्दा । कुनै सुन्दर सिर्जना ढिलै भए पनि दर्शकले मनपराइदिँदा रहेछन्,' नाजिर सुनाउँछन्, 'कला, फ्यासन त खासमा रिभल्व नै हुँदो रहेछ । अहिले जसरी जेन जीले ८० अनि ९० को फेसनलाई ब्युँताइदिनु भयो । त्यसरी नै कला फेरि घुमेर फर्कँदो रहेछ ।'

हुन त त्यो बेलामा पनि गीत 'चिपक चिपक' मिलियन क्लबमा पुगेको थियो, दर्शकको मुखैमा नझुन्डिए पनि थुप्रैले गीत मनपराइदिए । तर, अहिले भने यो गीतमा झुम्ने नै बढेका छन्, टिकटकले फेरि गीतलाई जनजिब्रोमा फर्काइदिएको छ ।

केही दिनअघि मात्रै काठमाडौंमा आयोजित एक तीज कार्यक्रममा यो गीत गुञ्जियो । तीज कार्यक्रममा रम्न पुगेकी महिलाहरुले गीतको हरेक अन्तरामा कम्मर भाँचे । रोचक त, त्यही कार्यक्रममा अभिनेता हुसेन 'गुन्योचोलो'को प्रचारका लागि पुगेका थिए । जसै नाजिर तीज मनाउन भेला भएका महिलाहरुका भिडमा पुगे, तब डिजे टिमले पृष्ठभूमिका यही गीत बजाए । 

त्यतिबेला बक्स अफिसमा फिल्म फ्लप भयो । मधेशको दाइजो प्रथा समेटिएको फिल्मको कथा मजबुत नै थियो । तर, बक्स अफिसमा कमजोर साबित फिल्मको गीतलाई भने टिकटकले फेरि जीवन्त बनाइदिएको छ ।

'चिपक चिपक' चल्नु टिकटकजस्ता प्लेटफर्म मात्रै प्रमुख कारक होइन । संगीतका पक्ष पनि बलियो हुनुपर्ने नाजिर सुनाउँछन् । 'चिपक चिपकको संगीत, रमाइलो छ, नाचौंनाचौं लाग्ने खालको छ । त्यतिबेला सुन्नेबित्तिकै यो गीतमा धुलो उडाउँदै दर्शक नाच्नुहुन्छ भन्ने भएको थियो,' नाजिर विगत सम्झन्छन्, 'त्यतिबेला त्यो हिलोमा केकी र म भोकभोकै नाचेका थियौं । गीत त्यतिबेलै हामीलाई एकदमै मनपरेको थियो । खासमा यो गीत नै राम्रो छ । अनि गीतका शब्द त पनि टपक्क टिप्न मिल्ने खालका छन् ।'

फिल्मकी प्रमुख अभिनेत्री केकी अधिकारी भने गीतको यस किसिमको ख्यातिबारे बेखबर थिइन् । केकी खासै सामाजिक सञ्जालतिर घोत्लिरहँदिनन् । उनी टिकटकमा भिडियो पोस्ट्याइहाले पनि त्यता धेरै समय खर्चदिँनन् । तर, एक दिन अचानक उनको फिडमा पनि 'चिपक चिपक'को भिडियो आइदियो । केकीलाई लागेको थियो, कसैले फेरि भिडियो बनाइदिए होलान् । 'खासगरी कुनै समयमा केही परिस्थितिले चल्न नसकेको गीतलाई टिकटकले ब्युँताइदिएको छ । तर, गीत राम्रो हुनुपर्‍यो पहिला त,' केकी भन्छिन् ।

खासमा केकीको पनि फेभरेट गीत हो यो । गीतमा तराईको मर्म समेटिएकैले पनि यो गीतको स्वाद बेग्लै रहेको केकी सुनाउँछिन् । 'त्यतिबेला हामीलाई मात्रै यो गीत मनपर्‍यो । दर्शकलाई चाहिँ मन परेनछ भन्ने लागेको थियो । मलाई आजसम्म पनि यो गीत किन चलेन भन्ने लाग्थ्यो । नाजिरदेखि फिल्मको अन्य टिम भेट्दा म यो गीत चाहिँ किन चलेन भनेर कुरा गर्थें,' केकी भन्छिन्, 'अहिले फर्केर हेर्दा राम्रो गीतले जुनैबेला दर्शकको मन र दिमाग ओगट्न सक्छ भन्ने भयो ।'

फिल्म प्रचारकै लागि पनि टिकटक महत्त्वपूर्ण प्लेटफर्म बन्दै आएको केकीको अनुभव छ । 'टिकटक अहिले एकदमै ठूलो प्लेटफर्म बनेर निस्कियो । फिल्मकै प्रचारका लागि पनि यो ठाउँ विशेष बन्दै आएको छ । त्यहाँ फिल्मको कुनै विषय चल्यो भने त्यसबाट पनि दर्शकको स्वाद पर्गेल्ने मापदण्ड बनेको छ, 'केकीले विश्लेषण गरिन्, 'राज्जा रानीको यो गीत यतिका वर्षपछि चल्नु भनेको त्यो गीतमा केही न केही थियो भन्ने हो । त्यतिकै चल्यो भन्ने हुँदैन ।' 

संगीतकार दीपक शर्मा वर्षौंपछि आफ्नो सिर्जनाले ख्याति पाउँदा खुसी छन् । 'त्यतिबेला गीत चर्चा नभएको होइन । गीत संगीतको क्षेत्रमा चर्चा नै पाएको हो । तर, टिकटकले गर्दा अहिले गीत पनि चल्यो । यो गीतमाथि बनाएको डान्सको स्टेप्स पनि चलेको देख्छु,' शर्माले भने ।

टिकटकमा यसअघि पनि दीपकको 'ए जदौ माया जदौ', 'पिरिम नलाउने', 'पर्खपर्ख मायालु'देखि 'दर्शन सलाम', 'पहिलो नम्बर'मा पनि चलेको थियो । युट्युबमा राखेको ४ वर्षपछि 'देखन चम्पा' बोलको गीत यसरी टिकटकले चर्चामा ल्याएको थियो । अहिले फरक धारका गीतलाई दर्शकले मनपराइदिने हुँदा 'चिपक चिपक'को स्वीकार्यता बढेको संगीतकार शर्मा सुनाउँछन् । 'पुराना गीत फर्कँदा पनि फरक धारकै गीत छन् । यो गीतमा पनि तराईको शैली छ । मलाई त्यतिबेला निर्देशकले तराईंको स्वाद आउनुपर्ने बताउनुभएको थियो । सुमिना लो र नरहरी प्रेमीले यो गीत गाउनुभएको थियो । त्यतिबेला गीत सुपरहिट त भएन,' शर्माले भने, 'अहिले यो गीतले संगीतका पारखीलाई नयाँ स्वाद दिएको छ ।'

अहिले 'चिपक चिपक'को भिडियोलाई युट्युबमा हेर्ने हो भने कमेन्टले ध्यान तानिहाल्छ, जहाँ अधिकांशले लेखेका छन्– टिकटकमा भिडियो हेरेर आउनेहरु यता !

'चिपक चिपक'अघि युट्युबको ट्रेन्डिङमा थियो अर्को गीत–'बरी लै' । नेपाल आइडलबाट चिनिएका गायक किरण भुजेलले यो गीतलाई युट्युबमा ८ वर्षअघि सार्वजनिक गरेका थिए । यो गीत वर्षौंपछि हिट हुनुमा कार्टुन्ज क्रुका सरोज अधिकारीलाई दिन्छन् किरण ।

खासमा सुरुमा सरोजले गीतमाथि कभर भिडियो बनाउने भन्दै किरणसँग सम्पर्क गरे । उनले पनि सजिलै 'हुन्छ' भनिदिए । 'अहिले पनि के चाहिँ होला र ?' भन्ने किरणलाई लागेको थियो । तर, जब गीतमाथि कार्टुन्ज क्रुले भिडियो बनायो, धमाधम टिकटक भिडियो बनाउनेहरु बढे । गीत चलेको देख्दा 'बरी लै'को 'भाइभ्स' अहिलेको समय सुहाउँदो बनेको किरणको अनुभव छ । 'साउद गीतको भाग्य अहिले थियो । यो गीत चल्नुको सबै श्रेय म सरोज जीलाई नै दिन चाहन्छु । उहाँले भिडियो नबनाउनु भएको भए यो गीत त्यसरी नै थन्किरहन्थ्यो, 'किरण सुनाउँछन् । 

'Chipak Chipak' and 'Bari Lai' hit Tiktok: Flop 7 years ago, hit now

डीपी खनालको शब्द अनि शंकर थापाको संगीत रहेको यो गीतको ओरिजिनल भिडियो भन्दा अहिले कार्टुन्ज क्रुले यसमाथि बनाएको गीतमा भ्युज धेरै छ । पल शाह र जुना सुन्दास अभिनित गीतको ओरिजिनल भिडियोलाई १४ लाख बढीले हेर्दा कार्टुन्ज क्रुको भिडियोमा २४ लाख भ्युज छ ।

'मैले १२ वर्षपछि गीतहरु चलेको सुनेको थिएँ । तर, आफ्नै गीत यसरी चल्छ होला भनेर सोचेको थिएन । तर, अहिले मलाई लाग्छ– मेरो गीत चलेन भनेर दुखी  हुने ठाउँ छैन,' किरणले भने । यो गीत चलेछ भन्ने चाल पाउँदा भने किरण पाथिभारा दर्शनमा पुगेका थिए । फर्कँदै गर्दा कसैले 'बरी लै' बजाइरहेका देखे । झापा झरिसकेपछि टिकटक खोले, आफूले गाएको ८ वर्षअघिको गीतमा टिकटक बनाउने हजारौं भइसकेछन् । 'मलाई कतिले यो गीत फेरि चलेपछि चिन्न थाल्नुभयो । किरण भुजेल होइन तपाईं भन्नेहरु बढे,' किरण गीत हिट भइसकेपछिको अनुभव सुनाउँछन् ।

भुजेलको यो गीत पनि ८ वर्षअघि युट्युबमा राख्दा चलेको थिएन । किरणको अनुभव पनि नाजिर र केकीको भन्दा फरक छैन । 'सिर्जना राम्रो भइदियो भने एक न एकदिन चल्छ' भन्ने किरणलाई लागेको छ । 'टिकटक त माध्यम मात्रै हो । तर, ठिक समयमा दर्शकको कानमा गीत पुर्‍याइदिने माध्यम हो यो । सिर्जना राम्रो चाहियो । गीत बनाउने टिम राम्रो हुनुपर्‍यो । दर्शकको कानमा पुर्‍याइदिने माध्यम पनि हुनुपर्दो रहेछ,' किरण भन्छन् । 

कार्टुन्ज क्रुका सरोजले भने 'बरी लै'लाई युट्युबमा सार्वजनिक हुँदै सुनेका थिए । त्यो बेला गीतमाथि भिडियो बनाउन पाएनन् । कारण त्यतिबेला अरुले नै भिडियो बनाइसकेका थिए । तर, केही समयअगाडि फेरि सरोजलाई यही गीतमाथि भिडियो बनाउने मन भयो । नृत्य समूहलाई लिएर नयाँ भिडियो बनाउन चाहन्थ्यो । गीत खोज्दै जाँदा दिगागले ठ्याक्क टिप्यो– बरी लै ।

'पहिल्यैदेखि सुनेको थिएँ, गीत राम्रो लागेको थियो । गीत चलेको पनि थिएन । मलाई गीतमा रमाइलो भिडियो बनाउनु थियो । मैले गीतमाथि भिडियो बनाउन अनुमति मागेँ । डीपी दाइले अनुमति दिनुभयो । अनि हामीले गीतमाथि भिडियो बनाएपछि यो गीत पनि चल्यो,' सरोज सुनाउँछन् ।

युट्युबबाट गीत चले पनि दर्शकलाई यो गीतमा झुमाउन टिकटकले नै भूमिका खेलेको सरोज सुनाउँछन् । 'युट्युबमा गीत चल्यो । टिकटकमा हाम्रो सिग्नेचर स्टेप पनि रुचाइयो । गीतको टिमबाट राम्रो प्रतिक्रिया पायौं,' सरोज भन्छन् । सरोजको समूहले यसअघि बनाएको कभर भिडियोहरुले यसरी नै नचलेका, युट्युबका कुनामा थन्किएका गीतहरुलाई ब्युँताइदिने काम भएको छ ।

गीतको शब्द र लय राम्रो भए वर्षौंपछि पनि गीतलाई दर्शकले रुचाइदिने सरोज सुनाउँछन् । 'बारी लै' मात्रै होइन यसअघि 'माया लैलै', 'आई लभ यु सो मच' लगायतका थुप्रै फ्लप गीतलाई हिट बनाउन कार्टुन्ज क्रुले महत्त्वपूर्ण भूमिका खेलेको छ । 'पुराना गीतका शब्द र लय नै मिठो हुन्छन् । अहिलेको नयाँ गीतमा त्यस्तो स्वाद भेट्दैन । त्यसैले हामी हिट नभएका त्यस्तै स्वादका गीतमा भिडियो बनाउँछौं,' सरोजले भने, 'टिकटकले पनि यी गीतहरुलाई हिट बनाइदिने गरेका छन् । कति गीतका टुक्का भने टिकटकमा चल्छ तर युट्युबमा धेरैले हेरेको हुँदैन ।'

वर्षौंपछि गीच चल्नु 'चिपक चिपक' र 'बरी लै'कै मात्र कथा होइन । यसअघि 'बादल वर्षा बिजुली' बोलको गीतले त सामाजिक सञ्जालमा वर्षौपछि उधुम मच्चाएको थियो । त्यसैले केही सिर्जनाका लागि टिकटक बरदान सावित भएको छ ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully