इन्जिनियर फिरोजले 'कहाँ गयौ तिमी'बाट निर्देशनमा कदम चालेका छन्, जसमा जीवन आचार्यको कथा र प्रकाश नेपालीको संगीत छ।
काठमाडौँ — फिल्म 'कहाँ गयौ तिमी' बन्ने भएको छ । सहारा फिल्म्सको प्रस्तुतिमा बन्ने यो फिल्मलाई फिरोज तिमलसेनाले निर्देशन गर्नेछन् ।
'लभस्टोरी' विधामा आधारित यो फिल्ममामा जीवन आचार्यको कथा रहनेछ भने प्रकाश नेपालीको संगीत रहनेछ । फिरोज टेलिभिजन होस्टहुँदै निर्देशनमा होमिएका हुन् । 'नेपाल आइडल सिजन–१'देखि 'भ्वाइस अफ नेपाल'जस्ता रियालिटी सोसँग जोडिसकेका उनले 'दर्पण छाया–२'मा अभिनय पनि गरेका हुन् ।
इन्जिनियरिङलाई पेसामा आबद्ध फिरोज हाल भने अमेरिकामा छन् । 'कहाँ गयौ तिमी' उनको डेब्यू निर्देशकीय फिल्म हुनेछ । फिल्ममा आबद्ध कलाकारबारे निर्माण पक्षले अझै जानकारी दिइसकेको छैन ।
'शब्द र भावना भनेको घरमा काम लाग्छ भनेर जतन गरी राखेको सियो जस्तो रहेछ, चाहिने बेला कहिले फेला पर्दैन । आज सिनेमा निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गर्दा खुसी र जिम्मेवारी दुवै महसुस भएको छ,'फिल्म घोषणा गर्दै फिरोजले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
