सेनले पूर्वेली भाकाको नयाँ गीत बजारमा ल्याएका छन् ।
काठमाडौँ — गायक प्रेम सेन र गायिका सुनिता थेगिमको आवाजमा नयाँ गीत 'म्याङ्लुङ बजार' सार्वजनिक भएको छ । पूर्वेली भाकाको यो गीतले पहाडी जिल्ला तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारलाई सम्झाउँदै मायाप्रेम दर्शाउँछ । प्रेमभावको यो गीतमा गीतमा गायक प्रेमकै शब्द तथा संगीत छ ।
गीतको भिडियोमा गायक-गायिका स्वयं देखिन्छन् । भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् । गीतको भिडियोमा विकास धमलाको सम्पादन र रंग संयोजन छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने ए वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्डिङ र किशोर थापाले मिक्सिङ गरेका हुन् ।
गायक सेन अब नियमित बजारमा गीत ल्याउने तयारीमा छन् । 'विभिन्न व्यक्तिगत कारण र गीतकै तयारीमा केही समय लाग्दा अलि लामै ग्यापपछि गीत ल्याएको हुँ ।अब नियमित रुपमा गीत सार्वजनिक गर्ने सोचमा छु । यसपटक पूर्वेली भाकाको गीत ल्याएको हुँ,'गायक सेनले भने ।
लामो समय शास्त्रीय संगीतको औपचारिक प्रशिक्षण लिएका प्रेमका यसअघिका 'सानी', 'तिम्रो पाउजु', 'आऊ गाऔं', 'तिमीले लाको चौबन्दी'लगायत गीत दर्शकले रुचाइएका छन् ।
