सन् २०१२ मा रिलिज भएको 'सन अफ सरदार' को सिक्वेलले अहिलेसम्म ५० करोडको आँकडा पार गर्न असफल भएको छ ।
काठमाडौँ — बलिउड अभिनेता अजय देवगन अभिनित नयाँ फिल्म ‘सन अफ सरदार २’ ले बक्स अफिसमा सन्तुष्टजनक व्यापार गर्न सकेको छैन ।
गत अगस्ट १ मा रिलिज भएको यो फिल्मले लगानीसमेत सुरक्षित गर्न सकिरहेको छैन । फिल्मले ५० करोडको आँकडा समेत पार गर्न सकेको छैन ।
भारतमा हालसम्म यो फिल्मले ४२ करोड मात्र कमाएको छ । फिल्मको विश्वरभरबाट हालसम्म कुल कलेक्सन ६०.५० करोड रुपैयाँ छ । ओभरसिजबाट १० करोड मात्र कमाएको छ । यो फिल्म सन् २०१२ मा रिलिज भएको ‘सन अफ सरदार’ को सिक्वेल हो ।
जसमा अजय देवगनसँगै सोनाक्षी सिन्हा र सञ्जय दत्त थिए । अश्विनी धरद्वारा निर्देशित उक्त फिल्मले त्यतिबेला विश्वभरबाट १३५ करोड रुपैयाँको व्यापार गरेको थियो ।
