हिमाल न्यौपाने निर्देशित फिल्ममा मिरुना मगरसहित थुप्रै कलाकारको अभिनय रहेको छ, जसले निम्नमध्यम वर्गीय नेपालीको कथा प्रस्तुत गर्दछ।
काठमाडौँ — प्रदर्शनको तयारीमा रहेको फिल्म 'जनै हराएको मान्छे : सम्बन्धका धागाहरु'को ट्रेलर सार्वजनिक भएको छ । जनै पूर्णिमाको अवसरमा सार्वजनिक गरिएको ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि गरिने संघर्ष समेटिएको छ ।
भदौ ६ देखि प्रदर्शनमा आउने यो फिल्ममा निम्नमध्यम वर्गीय आम नेपालीको कथा प्रस्तुत छ । हिमाल न्यौपानेको निर्देशन रहेको यो फिल्ममा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त शिवाकोटीको संगीत रहेको फिल्ममा भानुभक्त ढकालको कथा, पटकथा र संवाद छ ।
गोविन्द शाहीको काफिया फिल्मसले यो फिल्मको वितरण सम्हालेको छ ।
