दयाहाङ र संस्कृतिलाई लिएर फिल्म ‘बुकी फूल’ बन्दै

अभियान फिल्मस्‌का निर्देशक बेदबहादुर गुरुङ (श्याम) ले यो फिल्मको कथा लेखेका छन् । फिल्मलाई ओमप्रकाश गुरुङले निर्देशन गर्ने प्रोडक्सन म्यानेजर डीबी गुरुङले जानकारी दिए ।

श्रावण २३, २०८२

आश गुरुङ

Film 'Buki Phool' is being made about Dayahang and culture

What you should know

लमजुङ — दयाहाङ राईलाई लिएर नेपाली फिल्म ‘बुकी फूल’ निर्माण हुने भएको छ । पोखराको अभियान फिल्मस् प्रोडक्सन प्रालिले भदौबाट फिल्म शुटिङ गर्नेछ ।

यसअघि ७ वटा गुरुङ फिल्म निर्माण गरेको अभियानले १० वर्षपछि पहिलोपटक ठूलो पर्दाको नेपाली फिल्म निर्माण गर्न लागेको हो । अभियान फिल्मस्‌ले पछिल्लोपटक ‘युम्पो देउराली’ फिल्म निर्माण गरेको थियो ।

फिल्म ‘बुकी फूल’मा दयाहाङसँगै मोडल संस्कृति गुरुङले अभिनय गर्नेछन् । अभिनयमा डिप्लोमा गरेकी संस्कृति मोडल हुन् । फिल्ममा सहनिर्देशनसमेत गरिसकेकी संस्कृतिको फिल्ममा अभिनयको हिसाबले ‘बुकी फूल’ डेब्यू फिल्म हुनेछ । उनी पोखरा नयाँ बजारकी हुन् ।

‘बुकी फूल’ लेकाली क्षेत्रमा पाइने एउटा सुगन्धित फूल हो । अभियान फिल्मस्‌का निर्देशक बेदबहादुर गुरुङ (श्याम) ले यो फिल्मको कथा लेखेका छन् । फिल्मलाई ओमप्रकाश गुरुङले निर्देशन गर्ने प्रोडक्सन म्यानेजर डीबी गुरुङले जानकारी दिए ।

फिल्ममा गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का अध्यक्ष समेत रहेका राजेश गुरुङ, प्रकाश घिमिरे, पुराना कलाकार प्रेम पुन, लालशोभा गुरुङ, पुष्कर गुरुङलगायत अनुबन्धित भइसकेका छन् ।

पृथक् प्रेमकथामा आधारित दाबी गरिएको यो फिल्म कास्कीको पर्यटकीय गाउँ सिक्लेस र कोरी क्षेत्रमा छायांकन हुनेछ । माघसम्म फिल्म सुटिङ गरेर २०८३ को वैशाखमा रिलिज गरिने प्रोडक्सन म्यानेजर गुरुङले बताए ।

यो फिल्ममा माघ १ गते सिक्लेसको सिरान ‘मौदु क्यू फुइ’मा स्नान गरेर तीर्थ गर्ने र दिउँसो छेलो फाल्ने प्रतियोगितालाई कथावस्तुमा समेटिएको निर्माणपक्षले जनाएको छ । यस्तै, भदौ पूर्णिमामा पर्यटकीय दूधपोखरीमा नुहाउने ऐतिहासिक परम्परा र आस्थालाई फिल्ममा देखाउन खोजिएको लेखक गुरुङले बताए ।

लेखक गुरुङ गण्डकी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री हुन् । जिफानका पूर्वअध्यक्ष समेत रहेका उनले अभियान फिल्मस्‌बाट निर्मित गुरुङ फिल्महरुमा अभिनयसमेत गरिसकेका छन् । उनी मादी गाउँपालिकाका पूर्वअध्यक्षसमेत हुन् ।

फिल्म छायांकनका लागि लोकेशन हेर्ने कार्य सकिएको उनले बताए । ‘हामीले यसअघि भाषाभाषी (गुरुङ)का फिल्म बनायौं । यो साँघुरो घेरामा रहृयो । हाम्रै गाउँठाउँको कथा, संस्कृति र प्रकृतिलाई फिल्मको माध्ययबाट चिनाउनु छ,’ उनले भने । यसले सिक्लेस क्षेत्रको इतिहासलाई पनि पनि प्रवर्द्धन गर्ने उनले बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully