कार्यक्रममा 'सुगम संगीत : आस्था र अवस्था' विषयमा अन्तरक्रियासमेत आयोजना गरिएको थियो ।
What you should know
काठमाडौँ — गीतकार तारा ‘धुर्कापानी’ (डा. तारानाथ घिमिरे) को शब्दरचना रहेको सुगम संगीत विधाको नयाँ गीत सार्वजनिक भएको छ । शनिबार काठामाडौंमा डीआर सिर्जना संसारद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कवि डा. नवराज लम्सालले प्ले बटम थिचेर ‘दिनमा पनि रातमा पनि...’ बोलको आधुनिक गीत सार्वजनिक गरे ।
गीतमा स्वर र संगीत विष्णु अधिकारीको छ । कार्यक्रममा 'सुगम संगीत : आस्था र अवस्था' विषयमा अन्तरक्रियासमेत आयोजना गरिएको थियो ।
लम्सालले धुर्कापानीको गीतमा संवेदनाका बहुकोण रहेको बताए । यो गीत एउटा–एउटा संवेदना टिपेर बनेको सुन्दर मालाजस्तो बनेको उनको भनाइ थियो । समीक्षक डा. गीता त्रिपाठीले गीतमा व्यक्त रुवाइमा संवेदनालाई हल्लाइदिने शक्ति भएको बताइन् । धुर्कापानीलाई दुःखान्त गीतकारको उपमा दिँदै उनले भनिन्, 'आँसुमा विरेचनको शक्ति भएकाले गीतको मर्म सामान्यभन्दा विशेष छ ।'
संगीतकार राजु सिंहले शब्दले भन्न नसक्ने कुरा संगीतले भन्न सक्नु नै यो गीतको सफलता भएको बताए । यस्ता सुगम संगीतले धेरै राम्रा श्रोता समेट्न सक्ने उनको भनाइ थियो ।
गीतकार धुर्कापानीले सुगम संगीतलाई टेवा पुर्याउने उद्देश्यले नै यस्ता गीत सिर्जना गर्दै आएको बताए । 'प्राप्तिको सुखका तुलनामा अप्राप्तिको पीडा र छटपटीमा सिर्जित वियोगी भावमा डुबुल्की मारेपछि जन्मिने गीति सिर्जनाले दिने आनन्द अन्त कतै पाइँदैन,' उनले भने । संगीतकार एवं गायक विष्णु अधिकारीले धेरै पटकको प्रयासमा मात्रै गीत यो स्वरुपमा आएको बताए । उनले संगीत संयोजन गर्दाका अनुभव पनि सुनाए ।
समाजशास्त्री एवम् विश्लेषक डा. विष्णु दाहालले आयातित र छाडा संगीतको दबदबाबीच यसखालका सुगम संगीत चेपिएको भन्दै चिन्ता व्यक्त गरे । भारतीयहरूले हिन्दी गीतमा नेपाली शब्द फ्युजन गरेजस्तै हामीले पनि त्यस्तो प्रवृत्ति भित्र्याउन सक्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रमका संयोजक डा. हेम भण्डारीले कलासाहित्यमा हुने यस किसिमका अन्तरविषयक समीक्षाले कृतिको उचाइ बढ्ने भनाइ राखे । उनले गीतकार धुर्कापानीको साहित्य सिर्जनाका अनेक आयाममाथि चर्चा गरे ।
गीतकार धुर्कापानी त्रिवि पाटन संयुक्त क्याम्पसका राजनीति विभागका प्रमुख पनि हुन् । यसअघि उनका 'मेरो पनि एउटै मुटु', 'सबै पीडा भुलेँ मैले', 'कहिलेकाहीँ मेरो पनि', 'कहाँ लान्छ नियति'ले लगायत गीतगजल सार्वजनिक भइसकेका छन् ।
