फिल्म 'जारी-२: सङ अफ च्याब्रुङ' का तीन पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको छ।
काठमाडौँ — निकै चर्चा कमाएको फिल्म 'जारी'को सिक्वेल पनि यही वर्ष प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको 'जारी २'लाई असोज ३ मा प्रदर्शनमा ल्याउने तयारी थालेको छ ।
फिल्मका तीन पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति सार्वजनिक गरेको हो । 'जारी-२: सङ अफ च्याब्रुङ' उल्लेख गरिएको पोस्टरमा अभिनेत्री मिरुना मगरदेखि दयाहाङ राई, बुद्धि तामाङ र बिजय बराल पनि देखिएका छन् ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता, निर्देशक रामबाबु गुरुङ हुन् । फिल्ममा अन्य कलाकार ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।
'जारी' २०८० को ब्लकबस्टर फिल्म हो । नेपालीले बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।
