चरम निराशाले धकेलिएर 'स्वर्णदेश' जानेहरू !

नाटकको पहिलो दृश्यले नै देशमा भएको चरम निराशा, बेरोजगारी, महँगी र भ्रष्ट नेतृत्त्वले गर्दा नेपालीले गर्नुपरेको कठिन यात्राको बाध्यता दर्शाउँछ ।

श्रावण १७, २०८२

रीना मोक्तान

Pushed by extreme disappointment, those who go to 'Swarnadesh'!

What you should know

काठमाडौँ — हातमा हरियो पासपोर्ट, साथमा बडेमानको झोला । अनि आफूभन्दा अग्ला लौरो बोकेर केही समूह मञ्चमा देखापर्छन् । अनि उनीहरुले सुनाउन थाल्छन्, हिँडेर 'स्वर्णदेश' जानुपछाडिका कथा ! चरम नैराश्य, बेरोजगारी र अनिश्चित राजनीतिका व्यथा । 

मञ्चमा ठिंग उभिएको परशुरामले चर्को बोलीमा भन्छ, 'यो देशले मलाई आफ्नो नागरिकको रुपमा स्वीकार गर्न सकेन । मेरो त्याग, समर्पण, शिप, कौशल, क्षमता र देशप्रतिको ममतालाई लत्याएर पटकपटक मेरो राष्ट्रियमाथि प्रश्न गर्छ यो देश । जुन देशले पाइला पाइलामा मलाई तेस्रो दर्जाको 'अ'नागरिक महसुस गराउँछ, जुन देशमा मेरो अस्तित्त्व छैन, जुन देशले मलाई चिन्दैन । त्यो देशमा म कसरी बस्नु ? किन बस्नु ? म कहाँ बस्नु ?'

परशुरामले हातमा भएको पासपोर्ट भुइँमा हुर्‍याउन नपाउँदै छेउमा भएका दिनेश थप्छ, 'सिस्टम नै भ्रष्ट छ । हो यही भ्रष्ट सिस्टमको एउटा भिक्टिम म पनि हो ।' 

अर्को पात्र सम्भवले पहिला पासपोर्ट हुत्याउँछ, 'एकचोटि होइन दुईचोटि होइन । तीन/तीन चोटिसम्म भिसा रिजेक्ट । डीभी त कत्ति हो कत्ति ! अब त मलाई जसरी नि जानु छ, आई जस्ट वाना गो ।' 

मण्डला नाटकघरमा मञ्चनरत नाटक 'स्वर्णदेश'को यो दृश्यमा हिँडेर अमेरिका जानेका कथा र व्यथा देखिन्छ । नाटकको यो पहिलो दृश्यमै देशमा भएको चरम निराशा, बेरोजगारी, महंगी र भ्रष्ट नेतृत्त्वले गर्दा नेपालीले गर्नुपरेको कठिन यात्राको बाध्यता दर्शाउँछ । यो यात्राको निश्चित गन्तव्य छैन । पीडा, उत्साह अनि मानसिक तनावबीच गरिएको लाखौंको लगानी उठ्ने टुंगो पनि छैन । तर, पनि नेपालीहरु किन यो कहालीलाग्दो यात्रा गर्न मरिहत्ते गर्छन् ? नाटक 'स्वर्णदेश'ले अमेरिका जानेहरुका आशा, उनीहरुभित्रको चरम निराशा अनि पीडा मिसिएको यात्रा देखाउँछ । वास्तवमा झिनो आशा, डर अनि निराशाबीचको अनिश्चित यात्रा नै 'स्वर्णदेश'को कथा हो ।  

Pushed by extreme disappointment, those who go to 'Swarnadesh'!

अहिले पनि लाखौं खर्चेर, महिनौं हिँडेर अमेरिका पुग्ने यात्रा चलिरहेकै छ । वृद्धा परिवार, आफन्तलाई छाडी, गाउँ नै रित्तो पारी अवैध मार्गबाट अमेरिका छिर्ने सपना बोकी हिँड्नेको लर्को लामै छ । सपनाको नगरी अमेरिका पुग्न ज्यानलाई हत्केलामा राखेर यात्रा गर्नेहरुको कथा यहाँ अझै पनि दोहोरिरहेकै छ । यो चक्रलाई नाटक 'स्वर्णदेश'मा गजब्बसँग देखाइएको छ ।

जसै सुरुमा मञ्चमा देखिएका पात्रहरुले स्वर्णदेशसम्मको यात्रा पूरा गर्छन्, तब मञ्चमा उसैगरी आँखाभरि सपना, हातमा हरियो पासपोर्ट लिएर उभिन आइपुग्छ अर्को समूह । अनि हातमा भएको लौरोलाई झ्याम्म भुइँमा बजार्छ ! यो आवाज आम नागरिकभित्रको उकुसमुकुस हो, नेतृत्त्वप्रतिको आक्रोश हो । 

खासमा अवैध मार्गबाट अमेरिका जानु गैरकानुनी हो । तर, पनि सयौंले यो गैरकानुनी बाटो किन रोज्छन् ? के यो बाटोले सहजै अमेरिका पुर्‍याउँछ ? बरु फलामको चिउरा चपाउन सजिलो होला तर हिँडेर अमेरिका पुग्नु गाह्रो ! हिँड्नु, दुई पाइला अगाडि बढाउनु मात्रै होइन । हिँड्दै जाँदा आइपर्ने सबै भवितव्यको सामना गर्नु हो । भीमकाय रियो नदी तर्नु हो । जंगलका विशालु सर्प, जनावरसँग पैठेजोरी खेल्नु हो । त्यति मात्रै होइन, डरलाग्दा चोर र डाँकुबाट हुने लुटपाटबाट बाच्नु पनि हो ।

खासमा हिँडेर अमेरिका छिर्ने सपना जीवन र मरनबीचको त्यो पातलो धारमा हिँडिजे यात्रा हो, जहाँ शारीरिक मात्रै होइन मानशिक रुपले पनि यात्रा पूरा गर्नुपर्ने चुनौती हुन्छ । यो यात्रामा कतिबेला अमेरिका पुग्ने आशा निराशामा बदलिन्छ पत्तो हुन्न ! स्वर्णदेशको संकल्पले सामना गराउन लगाउने संकटबीच कति त मानसिक रुपले गलिसक्छन् । ती पात्रहरुमा आएको मानशिक तनाव, उनीहरुका मनोदशालाई पनि नाटकले विस्तृतमा केलाउँछ । 

यात्राकै क्रममा हरि टोलाउन थाल्छ । सपनामा बरबराउँछ । अमेरिका छिर्ने सपना अब उसले भुल्दै जान्छ । खासमा कहालीलाग्दो यात्राले नै हरिको बलियो मनोदशा कमजोर बनाइदिएको हो । हरिले अब पत्नीका कुरा गर्छ, घर फर्कने कुरा गर्छ । खासमा हरीको मनोदशामार्फत नाटकमा ती सयौं नेपालीको मानसिक दबाब प्रस्तुत गर्छ जो मर्नु र बाँच्नुको अवस्था छिचोल्दै अमेरिका हान्निएका छन् । 

यो नाटकमा हरिकी पत्नी सीता मञ्चमा बेलाबखत देखापरिरहन्छे, जसलाई दर्शकले बाहेक मञ्चमा उभिएका कलाकारले विरलै देख्छन् । उनी हातमा नानी खेलाउँदै त कहिले नानीका जुत्ता झुन्ड्याइएको पहिरनमा झट्ट मञ्चमा देखा पर्छिन् । उनी बारम्बार पतिको कानमा पुगेर साउती मार्छिन्, पतिलाई घर फर्कन फकाउँछिन्  । तर, उनको त्यो साउती हरिले सुन्दैन । खासमा यो दृश्य अमेरिका पुग्न हिँडेकाहरुको परिवारको छटपटी र चिन्ता हो, जो हिँडेर जानेहरुका चिन्तामा डुबेका छन् । यो दृश्यले रित्तो गाउँमा बाँकी छाडिएका वृद्धवद्धा, आफन्तको अवस्था चित्रण गर्छ जो उनीहरुको पर्खाईमा छन् । 

Pushed by extreme disappointment, those who go to 'Swarnadesh'!

नाटकमा अमेरिकालाई 'स्वर्णदेश'का रुपमा प्रतिबिम्बित गरिएको छ । खासमा यो नाटकमा अमेरिका भनेर कसैले नाम लिँदैनन् । पात्रहरु स्वर्णदेश पुग्न चाहन्छन् । खासमा उनीहरुका लागि अमेरिका नै स्वर्णदेश हो । स्वर्णदेश अर्थात् सुनको खानी भएको देश । पात्रहरु त्यही खानीबाट सुन निकाल्ने सपना बुन्दै छन् । उनीहरुलाई लाग्छ, यो कठिन यात्राले उनीहरुलाई सुनको खानीमा पुर्‍याउनेछ । अनि त्यहीँबाट उनीहरुले सुन बटुल्नेछन् । सुनको सिक्का बटुलेर उनीहरु गाउँका घरमा छानो लगाउन चाहन्छन् । परिवारको मानो भर्न चाहन्छन् । अनि अमेरिका पुग्दा लागेको लाखौं ऋण तिर्न चाहन्छन् । तर, के स्वर्णदेश वास्तवमै सुनकै सहर हो त ? के सुन खानीबाट सुन निकाल्न सहज होला ?

युवालाई देश फर्काउने सन्देश नाटकमा छ । सम्पन्न देशको चमकधमकपछाडिको रहस्य खोतल्दै युवाहरु मिलेर गाउँ/ठाउँमै केही गर्न सकिन्छ भन्ने सन्देश नाटकको सशक्त पाटो हो । तर, फर्की आउने युवालाई रोजगारी दिने, उनीहरुलाई फर्काउने निश्चित नीति योजनाबारे राज्य कत्तिको तयार छ ? सरकारसँग नाटकले प्रश्न गर्छ । कक्षा १२ सक्न नपाउँदै विदेश जाने सपना बोक्नेहरुलाई नाटकले भन्छ- 'विदेश सोचेजस्तो सजिलो पनि छैन ।'

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully