सामाजिक संजालको ढोकाबाट छिरेर फिल्मको पर्दासम्म

सामाजिक संजालको बाटो हुँदै अघि बढेका आयुस सिंह ठकुरी, प्रिन्सी खतिवडा र मिस पवीजस्ता कैयन नयाँ अनुहारहरू फिल्मका पर्दामा देखिँदैछन् । तर उनीहरुको क्रेज सामाजिक संजालकै भरमा सधैं कायम रहन्छ कि समयक्रममा हराउँदै जान्छ भन्ने हेर्न भने केही समय कुर्नैपर्छ ।

श्रावण १५, २०८२

समर्पण श्री

Through the doors of social networks to the screen of the movie

What you should know

काठमाडौँ — फिल्म क्षेत्रमा नयाँ-नयाँ कलाकारहरु कहाँबाट आइरहेका छन् ? यसको उत्तर खोज्न त्यति गाह्रो पनि छैन । पछिल्लो समय तिनै अनुहारहरु फिल्ममा आइरहेका छन, जो सामाजिक संजालबाट इन्फ्लुएन्सरका रुपमा उदाइरहेका छन् ।

यसका अलावा रंगमन्च, म्युजिक भिडियो, रियालिटी शो र टेलिरियलको ढोकाबाट छिरेर फिल्मको पर्दामा देखिने नयाँ अनुहारहरुको संख्या पनि उत्तिकै छ । यो नयाँ प्रवृत्तिले बताइरहेको छ, अभिनय क्षमता भएकाहरुलाई अघि बढ्न कसैले रोक्न सक्दैन् ।

टिकटकबाट उदाएका आयुस सिंह ठकुरी हुन कि प्रिन्सी खतिवडा, सुदूरपश्चिमबाट उदाएकी मिस पवी भनेर चिनिने पवित्रा साकी हुन् कि गरिमा शर्मा सबैजसो फिल्म क्षेत्रमा पाइला राख्दैछन् । सामाजिक संजालबाट आफ्नो खुबी प्रमाणित गरेकै आधारमा उनीहरु यहाँसम्म आइपुगेका हुन् ।


टिकटक र रिल्सको दुनियाँमा आफ्नै ख्याती छ, आयुस सिंह ठकुरीको । यिनै आयुस माइकल चन्दको निर्देशनमा बन्ने फिल्म ‘राम नाम सत्य’मार्फत फिल्मी दुनियाँमा पाइला राख्दैछन् । सामाजिक संजालमा उनले फ्यानमार्फत एउटै सुझाव पाइरहन्थे, ‘अब फिल्म खेल्नुपर्‍यो ।’ नभन्दै आयुस फिल्ममा आइपुगे ।

निर्देशक माइकलले आफ्नो फिल्मका लागि २२ वर्षीय पात्र चाहिएको र त्यही खोज्ने क्रममा आयुससम्म पुगेको बताए । उनले भने, 'उहाँ आफैं पनि चर्चित हुनुहुन्छ । फिल्मको लागि उपयुक्त पात्र पनि । त्यसकारण उहाँलाई लियौँ ।'

निर्देशक माइकलजस्तै हिजोआज धेरै फिल्म मेकरहरुका लागि सामाजिक संजाल क्यारेक्टर छनोट गर्ने उपयुक्त थलो भएको छ । एक महिना अघि भुवन केसीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘बाटुलो जुन’को पोस्टर सार्वजनिक भयो । जसमा अभिनेता अनमोल केसीसँगै थिए, टिकटकमा ख्याती कमाएकी प्रिन्सी खतिवडा थिइन् । Through the doors of social networks to the screen of the movie
टिकटक लगायतका सामाजिक संजालमा प्रिन्सी र उनकी जुम्ल्याह प्रिज्माको आफ्नै फ्यान फलोअर्स छन् । जुम्ल्याह भएकाले मात्रै नभएर अभिनयकै कारण उनीहरु सामाजिक संजालमा धेरैको प्रिय बनिरहेका थिए । सामाजिक संजालबाट आर्जित ख्यातीकै भरमा उनिहरु टेलिसिरियलदेखि म्युजिकभिडियोसम्म पुगेका थिए । यही यात्राकै क्रममा प्रिन्सी फिल्मसम्म पुगिन् ।

बाटुलो जुन फिल्मका लेखक सामिप्यराज तिमल्सेनाले प्रिन्सीको फ्यान फलोअर्स धेरै भएकै कारण नभइ लुक्सकै कारण आफुहरुको रोजाइमा परेका बताए । ‘उनी आफैं एउटा सेलिब्रेटी त हुन् । तर यो फिल्मको लागि हामीलाई नयाँ अनुहार चाहिएको थियो । त्यसमाथि गाउँले महिलाको लुक्स पनि खोजिरहेका थियौँ,’ उनले भने, ‘४/५ जनासँग अडिसन लियौँ । जसमा प्रिन्सी पनि हुनुहुन्थ्यो । उहाँको फेस हाम्रो पात्रसँग मिल्ने र पर्फमेन्स पनि राम्रो भएकाले छनोट गर्यौं ।'

सामाजिक संजाल उदाइरहेकी अर्की अनुहार हुन, मिस पविको नाममा लोकप्रिय बनेकी पवित्रा साकी । पछिल्लो समय कमेडी दरबारमा व्यस्त पवित्रालाइ पनि नयाँ फिल्मबाट अफरहरु आइरहेका छन् ।  उनले अभिनय गरेको ऋषि लामिछाने निर्देशित फिल्म ‘माग्ने राजा’ रिलिजको नजिक छ ।

लण्डन टु पेरिस र जन्ते बाख्रो जस्ता फिल्मबाट आफ्नो क्षमता देखाइसकेकी अभिनेत्री गरिमा शर्माको विगत खोज्ने हो भने सामाजिक संजालमै पुगिन्छ । सामाजिक संजालमा ‘कुल ब्वाय’को नामले चिनिने पारस बम ठकुरी पनि यही यात्राबाट होस्टेल ३ फिल्मसम्म पुगेका हुन् । होस्टेल ३ मा कुल ब्वायका अलवा अर्को अनुहार पनि थियो  सिम्रन पन्तको । उनको पनि सामाजिक संजाल टिकटकबाटै उदाएको विगत छ । सिम्रन भने अहिले नयाँ फिल्म ‘आ बाट आमा’मा काम गर्दैछिन् ।

जात्रा, जात्रै जात्रा र महाजात्रा जस्ता सफल फिल्मका निर्देशक प्रदीप भट्टराई जो जहाँबाट आए पनि कलाकारको लागि पहिलो सर्त अभिनय नै रहेको टिप्पणी गर्छन् । उनले अहिले टिकटक कलाकार र मेकर भेट गराउने सजिलो माध्यममात्र भएको बताउँदै भने, 'टिकटक कलाकार बन्न निर्देशकलाई भेट्न सजिलो माध्यम भाको हो । तर भेटिँदैमा सबै काम बन्छ भन्ने छैन । टिकटमा हिट हुँदा फिल्म खेल्ने रहर जाग्नु स्वभाविक हो । तर लङ रेसको घोडा बन्नु छ भने अभिनय सिकेरै आउनुपर्छ ।’

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully