सम्झौताअनुसार अनिललाई अडियो अनि भिडियोमाथिको अधिकार म्युजिक डटकमलाई ।
What you should know
काठमाडौँ — गायक अनिल सिंह र म्युजिक डटकमसँगको विवाद समाधान भएको छ । लामो समयपछि म्युजिक डटकमले भिडियोको अधिकार आफूलाई निहित गर्दै अनिललाई अडियोमाथिको अधिकार दिने सम्झौता भएसँगै विवाद समाधान भएको हो ।
हालै मात्रै गायक सिंहले 'मेगाहर्ज' र 'लिमिटेड अडिसन' एल्बमका २० अनि 'गायक' एल्बमको 'प्रेमपत्र' र 'मैले जानिसकेँ' गरेर २२ गीत म्युजिक नेपालबाट फिर्ता पाएका थिए । तर, गीत फिर्ता पाए पनि डिजिटल अधिकार पाएका थिएनन् ।
म्युजिक नेपालले डिजिटल अधिकारका लागि म्युजिक डटकमसँग सम्झौता गरेकै कारण पनि सिंहले लामो समय यी दुई कम्पनीसँग आफ्नो अधिकारका लागि संघर्ष गर्नु परेको थियो ।
सहमतिअनुसार म्युजिक नेपालको भूमिका अब यो विषयमा कुनै पक्ष नभई वितरणकर्ताको रुपमा मात्र रहनेछ । 'मलाई म्युजिक डटकमको तर्फबाट म्युजिक नेपालले कपिराइट क्लेम भएको थियो । अब मेरो कारोबार म्यूजिक डटकमसँग हो,' अनिलले भने ।
आफ्नो अधिकारका लागि भावुक भएर सामाजिक सञ्जालमा बोल्दा त्यसको असर आफन्त इष्टमित्रमा परेको हुँदा केही भिडियो फेसबुकबाट हटाउने भएको सिंहले जनाए । 'म यो अवसरमा म्युजिक डटकमलाई पनि धन्यवाद दिन चाहन्छु, जसले सहमतिमा पुग्न सहकार्य र समझदारी देखाएको छ । साथै, म्यूजिक नेपाललाई पनि आफ्नो प्राविधिक भूमिकामा सीमित रहेर निष्पक्ष भूमिका निर्वाह गरेकोमा कृतज्ञता प्रकट गर्दछु,' सिंहले फेसबुकमा लेखेका छन्, 'अहिले म तपाईंहरू सबैसँग खुलेर भन्न चाहन्छु—यो विवादका दौरान मैले अत्यन्तै भावुक अवस्थामा केही अभिव्यक्तिहरू गरें, जसमा आत्महत्या गर्नेसम्मको कुरा उठेको थियो । त्यो मेरो मानसिक तनाव, पीडा र निराशाको क्षणिक अभिव्यक्ति थियो ।'
