म्युजिक नेपाल र म्युजिक डटकमसँगको संघर्षपछि अनिल सिंहले २२ गीतको डिजिटल अधिकार फिर्ता ल्याएका छन्।
What you should know
काठमाडौँ — पप गायक अनिल सिंहले लामो समयपछि म्युजिक नेपाल र म्युजिक डटकमबाट आफ्ना २२ गीत फिर्ता पाएका छन् । १२ वर्षपछि गीतको डिजिटल अधिकार प्राप्त गरे पनि म्युजिक डटकमबाट कानुनी सम्झौता भने आज हुने गायक सिंहले जनाए ।
'अहिले डिजिटल्ली गीत फिर्ता पाइसकेको छु । तर म्युजिक डटकमको कानुनी सम्झौता आइसकेको छैन । आज त्यो सम्झौता गर्छु भन्नुभा'छ उहाँहरूले,'अनिलले भने । सिंहले 'मेगाहर्ज' र 'लिमिटेड अडिसन' एल्बमका २० अनि 'गायक' एल्बमको 'प्रेमपत्र' र 'मैले जानिसकेँ' गरेर २२ गीत फिर्ता पाएका हुन् । अनिल आफ्नै संगीतमा नवीन के भट्टराईले गाएको 'साँझ ढल्दैछ' भन्ने गीत पनि फिर्ता लिने तयारीमा छन् ।
अनिलका अनुसार म्युजिक नेपालसँग गीतको डिजिटल अधिकार आफूमै केन्द्रित हुने सम्झौता भएको थियो । तर, सम्झौता भएको २ महिनामै म्युजिक नेपाल सम्झौता विपरित जाँदै डिजिटल अधिकारलाई आफ्नो दाबी गर्दै आयो । यही सम्झौताको विषयले एक दशक आफूले संघर्ष गर्नु परेको अनिल सुनाउँछन् ।
'यो कुराले १० वर्ष मलाई ध्वस्त नै पार्यो । डिजिटलकै हकमा नेपालमा म मात्रै त्यस्तो गायक होला, जसको न कुनै युट्युब च्यानल छ । मैले फेसबुकमा आफ्नै गीत गाउँदा पनि कपिराइट हुन्थ्यो, ब्ल्याकलिस्टेड नै रहेछु,'अनिलले भने,'उहाँहरूले मलाई डिजिटल प्लेटफर्म जताततै ब्ल्याकलिस्टेड गर्नु भएको रहेछ । त्यसले मेरो संसार नै अन्धकारमय बनायो । मेरो लागि उहाँहरूले बाँकी नै केही राखिदिनु भएन ।'
म्युजिक नेपालले गीत फिर्ता गरिसके पनि केही समययता म्युजिक डटकमले कानुनी सम्झौता गर्न भने आनाकानी गर्दै आइरहेको थियो । खासमा अनिलले आफ्ना गीतका सबै सम्झौता म्युजिक नेपालसँग गरेका थिए । तर, म्युजिक नेपालले म्युजिक डटकमसँग डिजिटल सम्झौता गरेकै कारण पनि अनिलले आफ्ना गीतको अधिकार पाउन यी दुई कम्पनीसँग लामो समय संघर्ष गरेका हुन् ।
