न्यूजिल्यान्डमा सांगीतिक यात्रा गर्दै मंगोलियन हार्ट

सन् १९९२ मा स्थापना भएको ब्यान्डले न्यूजिल्यान्डका तीन प्रमुख सहरमा सांगीतिक प्रस्तुति दिने

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

Mongolian Heart on a musical tour of New Zealand

What you should know

काठमाडौँ — नेपालको लोकप्रिय ब्यान्ड मंगोलियन हार्ट पहिलोपटक न्यूजिल्यान्ड टूरमा जाने भएको छ ।

सन् १९९२ मा स्थापना भएको यस ब्यान्डले सन् २०२५ को विशेष टूर अन्तर्गत न्यूजिल्यान्डका तीन प्रमुख सहरहरू क्राइस्ट चर्च, अकल्यान्ड र टाउरङ्गामा आफ्ना दर्शक–स्रोतामाझ प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने भएको हो ।

न्यूजिल्यान्डमा पहिलोपटक टुर गर्न पाउँदा आफूहरू उत्साहित भएको ब्यान्डका म्यानेजर तथा गिटारिष्ट बोबी लामाले बताए । ‘हामी यतिबेला उत्साहित छौँ । नयाँ र पुराना दुवै गीत प्रस्तुत गरेर दर्शकलाई पूर्ण मनोरञ्जन दिने तयारीमा छौं,’ लामाले भने ।

मंगोलियन हार्टको आठ सदस्यीय टोली यही जुलाई २९ मा काठमाडौंबाट न्यूजिल्यान्डका लागि प्रस्थान गर्नेछ । यस टूरको आयोजना स्थानीय इभेन्ट कम्पनी सम्बन्ध इभेन्ट्सले गर्दै छ ।

सांगीतिक यात्राका क्रममा ब्यान्डले आफ्ना सुपरहिट गीतको प्रस्तुति दिनेछ भने नेपाली समुदायलाई एकै ठाउँमा ल्याई सांस्कृतिक उत्सवको रूप दिने लक्ष्य लिइएको छ ।

ब्यान्डको टोली आगामी अगस्ट १५ मा नेपाल फर्किनेछ र त्यसपछि अगस्ट २० मा मिजोरम, उत्तर–पूर्व भारतमा आफ्नो प्रस्तुति दिन जाँदैछ ।

गायक राजु लामा लिड भोकलिस्ट रहेको यो ब्यान्डमा बोबी लामा रिदम गिटार, भूपेन्द्र बज्राचार्य लिड गिटार, सन्तोष थापा ड्रम, विनय महर्जन बाँसुरी, बाबुराजा महर्जन परकसन (मादल), पवन कपाली बास गिटार र निरेन्द्र रञ्जित साउन्ड इन्जिनियर रहेका छन् ।

‘बादल पारिको देशबाट, मेरो नेपाल, सुम्निमा, म माया लाउँदिनँ, हल्ला चलेछ, तिमीलाई देखेर, पर्खाइमा, सायद तिम्रो बाटोमा, उँभो उँभो खासा, शैलुङ्गे मेला’ आदि मंगोलियन हार्टका चर्चित गीत हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully