काठमाडौँ — फिल्म 'जनै हराएको मान्छे : सम्बन्धका धागाहरू'को नयाँ गीत बजारमा आएको छ । प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण पक्षले प्रचार सामग्रीस्वरूप 'मसुरीको दाना'बोलको गीत सार्वजनिक गरेको हो ।
गायिका अञ्जु पन्त र गायक एसडी योगीको स्वर रहेको गीतका शब्द हर्क साउदले लेखेका हुन् । योगीकै संगीत रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर र गौरव पहाडी देखिन्छन् । भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी छ । गीतमा ठेट नेपाली शब्दको प्रयोग भेटिन्छ ।
हिमाल न्यौपानेको निर्देशित यो फिल्ममा यी चार कलाकारसँगै सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगरलगायतको अभिनय छ । भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहेको यो फिल्मलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् ।
फिल्मको वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्म्सले लिएको छ ।
