काठमाडौँ — उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गीत, संगीत समाजलाई उन्नत बनाउने माध्यम भएको बताएका छन् ।
बिहीबार काठमाडौँमा गीतकार देवी पराजुलीका गीतहरू सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले प्रतिभाशाली व्यक्तिहरूलाई सकेको सहयोग गर्न सकेमा त्यसले उनीहरूको मनोबल उच्च बनाउने उल्लेख गरे ।
उनले आफू संगीतप्रेमी रहेको बताए । समाजमा भएका यथार्थ विषयवस्तुलाई गीतसंगीतमार्फत प्रस्तुत गरी हृदयस्पर्शी बनाउनुपर्ने धारणा पनि उनले व्यक्त गरे । गीत, संगीतका लागि संविधानले दिएको अधिकार कार्यान्वयन गर्न आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उपप्रधानमन्त्री सिंहले भने, ‘प्रतिभाशाली व्यक्तिलाई थोरै भए पनि हौसला दिन सकियो भने त्यो पनि एउटा उपलब्धि हुन्छ। गीत, संगीत समाजलाई उन्नत बनाउने माध्यम हो। म म्युजिक लभर हुँ, म सुन्छु। सुन्न पनि त चाहियो नि। गीतले समाजमा भएका कुरालाई हृदय छुने गरी गीतकारले रचना गरेपछि र गायकले पनि त्यसै अनुरूप गाएपछि गीत पूरा हुन्छ। संविधानमा भएका अधिकार कानुन बनाएर कार्यान्वयनमा ल्याउनुपर्छ भनिएको छ। त्यसमा मैले खेल्नुपर्ने भूमिका म खेल्नेछु।’
संविधानमा भएका प्रावधानहरू कार्यान्वयन गराउन सबैको पहल आवश्यक रहेको उनको भनाइ छ।
