११ वर्षपछि फर्कियो 'जेरी'

फिल्ममा अनमोलको बुवाको भूमिका देखिँदैछन् भुवन केसी

श्रावण ८, २०८२

कान्तिपुर संवाददाता

'Jerry' returns after 11 years

काठमाडौँ — अनमोल केसी अभिनित फिल्म 'जेरी अन टप' तिहारमा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म प्रदर्शनको मिति असोज ३१ तय गरेको हो । 

'११ वर्षपछि फिल्म 'जेरी'माथि सिक्वेल बनेको छ । अनमोल केसी अभिनित '११ वर्षपछि जेरी फर्किएको छ । केही डर अनि रमाइलो अनुभव गर्न तिहार पर्खनुस्,'पोस्टर सामाजिक सञ्जालमा पोस्ट्याउँदै अनमोलले लेखेका छन् । 

पोस्टरमा अनमोलसँग अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ देखिन्छन् । त्रिकोणात्मक प्रेममा आधारित यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा अन्य कलाकार केदार घिमिरे 'माग्नेबुढा', अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की प्रमुख भूमिकामा छन् । भुवन केसी फिल्ममा अनमोलको बुवाको भूमिका देखिँदैछन् । 

सरोज न्यौपानेले निर्माण गरेको यो फिल्म सगरमाथा आधारशिविर, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा छायांकन गरिएको हो । फिल्मका केही दृश्य काठमाडौंमा झन्डै एक करोडको लागतमा तयार गरिएको सेटमा गरिएको निर्माण टिमको दाबी छ । सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेको यो फिल्मको कथा हेमराज बिसीको हो । फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र ब्रिजेश श्रेष्ठको संगीत छ ।

विश्वास तिम्सिनाको पटकथा रहेको यो फिल्ममा दुलिप रेग्मीको छायांकन छ ।

कान्तिपुर संवाददाता

Link copied successfully