युरोपका पाँच मुलुकमा गुञ्जिँदै नेपथ्य

श्रावण ८, २०८२

कान्तिपुर संवाददाता

It resonated in five European countries

What you should know

काठमाडौँ — लोकरक ब्यान्ड नेपथ्यले आगामी महिना युरोपको शृङ्खलाबद्ध साङ्गीतिक यात्रा गर्ने भएको छ । बेलायत, डेनमार्क, माल्टा, पोर्चुगल र बेल्जियममा नेपथ्यले कन्सर्ट गर्न लागेको हो । ब्यान्डले शृङ्खलाबद्ध यात्राको पहिलो प्रस्तुति अगस्ट ९ मा लन्डनको वेम्बलीमा दिनेछ । 

त्यसपछि अगस्ट २३, शनिबार डेनमार्कको राजधानी कोपेनहेगनमा ब्यान्ड  प्रस्तुत हुनेछ । त्यहाँस्थित ‘पुलेन हल’ मा ब्यान्डको कन्सर्ट तय भएको छ । औद्योगिक युगको वैभव सम्झाउने पुरानो गोदामलाई व्यवस्थित हलमा परिणत गरिएको यो हल हिजोआज नियमित रक कन्सर्ट हुने थलो बनेको छ । यसै हलको वेबसाइटमा नेपथ्य कन्सर्टको विवरणसमेत देख्न सकिन्छ । कोपेनहेगन सहरमा नेपथ्यको दोस्रो प्रस्तुति हुन लागेको हो । यसअघि सन् २०१६ मा ब्यान्डले कोपेनहेगनमा लोकरक सुनाएको थियो ।

डेनमार्कपछि ब्यान्ड माल्टाको आटार्ड सहरमा उपस्थित हुनेछ । मुलुकको उत्तरी भेगमा पर्ने यस सहरको ‘माल्टा फेयर एन्ड कन्भेन्सन्स सेन्टर हल’ मा अगस्ट २७, बुधबार नेपथ्यका गीत गुञ्जिनेछ  त्यसपछि ब्यान्ड पोर्चुगलतर्फ प्रस्थान गर्नेछ । त्यहाँको राजधानी लिस्बनस्थित ‘लिस्बोआ आओ भिभो’ मा अगस्ट ३१, आइतबार नेपथ्य प्रस्तुत हुनेछ ।

युरोप यात्राको अन्तिम प्रस्तुति भने बेल्जियमको एन्थ्रोपेन सहरमा हुनेछ । त्यहाँस्थित ‘एइडी स्टुडियोजको स्टुडियो सेभेन’ मा सेप्टेम्बर ३ मा नेपथ्यको प्रस्तुति रहनेछ । एन्थ्रोपेन सहरमा पनि नेपथ्य दोस्रो पटक प्रस्तुत हुन लागेको हो । यसअघि सन् २००५ मा ब्यान्डले त्यहाँस्थित आरेनबर्ग थिएटरमा आफूलाई उभ्याएको थियो ।

यस यात्राका लागि व्यवस्थापक, प्राविधिक र कलाकारसमेत गरेर १४ सदस्यीय नेपथ्य टोली युरोप प्रस्थान गर्दै छ । मञ्चमा भने मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully