What you should know
काठमाडौँ — नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम-पलेँटीमा यो पटक संगीतकार न्ह्यू बज्राचार्य प्रस्तुत हुँदैछन् । आगामी साउन ९ र १० मा आयोजना हुने कार्यक्रममा न्ह्यूलाई बानिका प्रधानको गायनमा साथ दिनेछन् ।
बज्राचार्यले 'फूलको आँखामा', 'नआऊ सपनाभरि', 'अरबौं मान्छेहरूमा', 'लैजा चरी', 'सयथरि बाजा'लगायत अनेकौं गीतमा संगीत भरेका छन् । गायिका अरुणा लामाले गाएको 'यो मन त तलाउ हो'मा पनि बज्राचार्यकै संगीत छ ।
पहिलोपल्ट पलेँटीमा सहभागी हुँदै गरेका सङ्गीतकार न्ह्यू आफ्नो प्रस्तुति स्मरणीय बनाउने कोशिसमा छन् । 'नेपाली आधुनिक संगीतलाई अहिलेका श्रोताहरूसँग कनेक्ट गर्ने ब्रिजका रूपमा पाउँछु म पलेँटीलाई । यस मञ्चमा यसपाली हुने मेरो प्रस्तुतिलाई स्मरणीय बनाउन मेरो पुरा कोशिश रहनेछ,'उनले भने ।
गायिका प्रधान दर्शकका रूपमा सरिक भइरहे पनि प्रस्तोताका रुपमा पहिलो पटक पलेँटीमा प्रस्तुत हुन लागेकोमा खुसी व्यक्त गर्छिन् । 'असंख्य अग्रजहरूले पलेँटी कस्नुभएको यो मञ्चको गरिमा अतुलनीय छ । धेरै पहिलेदेखि यस मञ्चमा गाउने सपना थियो । मसँग पलेँटीको दर्शक भएको अनुभव छ । तर यसपालि भने आफैंलाई गाउने मौका जुर्यो । साह्रै आनन्दित छु,'उनले भनिन् ।
