नेसनल म्युजिक अवार्ड्स : सुन्दर र सुजिता मदनकृष्ण र दुर्गेशको भेषमा आउँदै

एनएमए शनिबार गोदावरी सनराइज कन्भेन्सनमा हुँदै

असार २७, २०८२

कान्तिपुर संवाददाता

National Music Awards: Sundar and Sujitha dressed as Madankrishna and Durgesh

काठमाडौँ — सोच्नुस्, कलाकार मदनकृष्ण श्रेष्ठ र अहिलेका चर्चित युवा गायक दुर्गेश थापा स्टेजमा छन् । मदनले दुर्गेशलाई गीत गाउन सिकाउँदै गर्दा माहोल कस्तो होला ? कमेडियन सुन्दर खनाल र सुजिता श्रेष्ठ आगामी शनिबार गोदावरी सनराइज कन्भेन्सनमा हुन लागेको ‘नेसनल म्युजिक अवार्ड्स २०८१’ (एनएमए) मा मदन र दुर्गेशको भेषमा प्रस्तुत हुँदै छन् । जुन दर्शकका लागि सरप्राइज प्रस्तुति हो । 

रेडियो कान्तिपुरले आयोजना गर्ने ‘एनएमए’ मा दुर्गेश पनि आफ्नो धमाकेदार प्रस्तुति दिँदै छन् । उनी दर्शकदीर्घातिर हुँदा स्टेजमा सुजिता दुर्गेशकै भेषमा देखिनेछिन्, अनि मदन बाको अवतारमा सुन्दर । अवार्डसहितको यो कन्सर्ट कार्यक्रममा ३ हजार दर्शक अपेक्षा गरिएको छ । 

यस किसिमको दर्शक उपस्थिति भएको कार्यक्रममा लाइभ प्रस्तुति सुजिताका लागि पहिलो अनुभव हो । त्यसैले उनी प्रस्तुतिलाई लिएर ‘नर्भस’ छिन् । यसअघि सुजिताले ‘कमेडी दरबार’ का निश्चित दर्शकबीच हास्य व्यंग्यात्मक प्रस्तुति दिँदै आएकी छन् । तर, जब कान्तिपुर टेलिभिजनका सीईओ सुरजसिंह ठकुरीले प्रस्तुतिको प्रस्ताव राखे, त्यतिबेलै सुजिताको मन चिसो भयो । सुरुमा त सुजिताले ‘होस्ट’ को जिम्मेवारी ठानेकी थिइन्, तर हास्यव्यंग्य प्रस्तुति दिनुपर्ने भएपछि उनमा हौसलासँगै छटपटी पनि सुरु भयो । 

सुन्दरले यसअघि दुर्गेश र मदनको आइडिया सोचिसकेका थिएनन् । उनले थुप्रै विषयमाथि दिमाग घुमाए, पत्रकार प्रकाश सुवेदी पो बन्ने कि ? दिमागमा थुप्रै चरित्रहरू घुमे । यसबीचमा उनले मदन र दुर्गेशबीचको कुराकानीलाई कमेडीमा रूपान्तरण गर्ने सोचे ।

कमेडी दरबारमा दुर्गेश थापाको अगाडि प्रस्तुति दिए पनि, यसअघि सुजिता दुर्गेश नै बनेकी थिइनन् । त्यसैले सुरुमा सुन्दरको आइडियाले सुजितालाई ‘नर्भस’ बनायो । तर, यसबीच सुन्दरले दुर्गेशसँग अनुमति मागे, ‘स्क्रिप्ट’ तयार भयो । प्रस्तुतिको अन्तिम तयारीले भने सुजितालाई हौसला थपिदिएको छ, उनी सक्दो दर्शक हँसाउने तयारीमा छिन् । 

‘मलाई दुर्गेश थापाको इनर्जी एकदमै मन पर्छ । अहिले उहाँको इनर्जी, पहिरन, हाउभाउ सबै नियालिरहेको छु । तर, जति पटक जसको अवतार बनेर प्रस्तुति दिए पनि नर्भस भने भइँदो रहेछ । म अहिले पनि नर्भस छु,’ सुजिताले भनिन् । महिला भएकै कारण पुरुषको हाउभाउलाई आफ्नो शरीरमा उतार्न, अहिले उनलाई चुनौती भइरहेको छ । यद्यपि उनले यसअघि पनि पुरुष अवतार बनेर दर्शक हँसाइसकेकी छन् ।

दुर्गेश, कुमः सागरदेखि थुप्रै चर्चित कलाकारको प्रस्तुतिसहितको यो अवार्ड कार्यक्रमका लागि सुजिता आफैं पनि उत्साहित छिन् । ‘अवार्ड कार्यक्रममा यस्तो प्रस्तुति पहिलो नै भयो । बिग्रिहाल्यो भने के गर्ने होला भन्ने भइहाल्छ,’ सुजिताले सुनाइन्, ‘कमेडियनका रूपमा स्टेज चढ्दा उत्साहसँगै डर थपिएको छ ।’

यो प्रस्तुतिको तयारी अन्तिम चरणमा पुगेको सुन्दर सुनाउँछन् । आयोजक टिमले उनीहरूलाई ८ मिनेटको समय छुट्याएका छन् । उनीहरू हरेक मिनेटमा दर्शक हँसाउन चाहन्छन् । त्यसैले सुन्दर आफैंलाई पनि उत्साहसँगै एक किसिमको डर महसुस भइरहेको छ । ‘सबै जनाको अगाडि प्रस्तुति दिन पाउँदा खुसीसँगै डर लागिरहेको छ,’ सुन्दरले भने ।

दुर्गेशकै चरित्र किन ? दुर्गेश यतिबेला चर्चाको शिखरमा रहेका कारण उनलाई रोजेको सुन्दरले सुनाए । ‘यस्तो ठूलो प्लाटफर्ममा जोडिन पाउनु खुसीको विषय हो । त्यसैले पनि उत्साहित छौं,’ सुन्दरले भने । नेपालमा कमेडीका लागि अझै पनि ठूलो प्लाटफर्म छैन । बल्लतल्ल केही कमेडी शोहरूले स्थान लिन थालेका छन् । त्यसैले आफूजस्ता कलाकारका लागि एनएमएजस्तो ठूलो कार्यक्रमले प्लाटफर्म दिएको सुन्दर सुनाउँछन् । 

‘यस्तो ठूलो कार्यक्रममा त अन्य कलाकारलाई भेट्न पाउँछौं,’ सुन्दरले भने, ‘प्रत्यक्ष रूपमा आफ्नो प्रस्तुतिको प्रतिक्रिया लिन पाइन्छ । कलाका विसंगति र विकृतिलाई व्यंग्यमार्फत पस्कन पाउँछौं । व्यंग्यको यही गुणले हामी आफूलाई लागेका कुरा यो माध्यमबाट पस्किरहेका हुन्छौं, कमेडीकै पनि अवार्ड कार्यक्रम भइदिए कति मज्जा हुन्थ्यो होला ।’ 

हुन त नेपालमा ‘डान्स’ का लागि पनि राम्रो प्लाटफर्म छैन । रियालिटी शो र केही मेला/महोत्सवमै डान्सरहरूले मौका पाइरहेका हुन्छन् । धेरै दर्शकबीच आक्कल झुक्कल देखिन पनि मौका पर्खनुपर्ने हुन्छ । नृत्य समूह ‘कार्टुन्ज क्रु’ पनि ‘एनएमए’ ले आफूहरूका लागि प्लाटफर्म दिएकामा दंग छन् । ‘जालमा,’ ‘नाई मलाई थाहा छैन,’ ‘माया, माया,’ ‘कट्टा हान्दिन्छु,’ ‘बरी लै’ र ‘माया लुकीलुकी’ बोलका गीतहरूमा ‘कार्टुन्ज क्रु’ ले डान्स प्रस्तुति दिनेछ । उनीहरू २ सातादेखि अभ्यासरत छन् । 

‘कार्टुन्ज क्रु’ का लागि पनि धेरै संख्याका दर्शकबीच यो प्रस्तुति पहिलो हुनेछ । आयोजकले प्रस्तुतिका लागि अफर गर्दा आफ्नो समूहमा ऊर्जा थपिएको सरोज अधिकारी सुनाउँछन् । ‘दर्शकबीच लाइभ प्रस्तुति दिनुको अनुभव बेग्लै हुन्छ । त्यसमाथि हाम्रो समूहले यस्तो कार्यक्रममा प्रस्तुति नदिएको धेरै भइसक्यो । त्यसैले पनियो प्रस्तुतिलाई लिएर उत्साहित छौं,’ सरोजले सुनाए । 

हुन त सरोज र आश्मा विश्वकर्माले थुप्रै ठाउँमा युगल प्रस्तुति दिइरहेका हुन्छन् । कहिले आश्मा मात्रै पनि प्रस्तुति दिन पुग्छिन् त कहिले सरोज एक्लै । तर, यो पटक एनएमएमा १० जनाको समूहमा उनीहरू नृत्य गर्दै छन् । ‘हामीबाहेक पनि राम्रा कलाकारले प्रस्तुति दिँदै हुनुहुन्छ । अनि उहाँहरूसँग एउटै स्टेज चढ्न पाउनु त उत्साहित हुने विषय भइहाल्यो,’ सरोजले भने । 

यसअघि सरोजले कुमः सागरको प्रस्तुतिलाई प्रत्यक्ष हेर्न पाएका छैनन् । उनी कुमःदेखि स्वप्न सुमनको प्रस्तुतिको साक्षी बन्न एनएमए पर्खिरहेका छन् । ‘नेपालमा डान्सका लागि यस्तो ठूलो प्लाटफर्म छैन । हामीलाई हेरेर नेपालमा थुप्रै डान्स समूह निस्किए । हाम्रो यस किसिमको पर्फमेन्सले उनीहरूलाई पनि प्रेरणा मिल्नेछ भन्नेमा आशावादी छु,’ सरोजले भने, ‘हाम्रा लागि पनि यो ठूलो उपलब्धि हो ।’

कान्तिपुर

Link copied successfully