काठमाडौँ — गायक स्वप्न सुमन आउँदो शनिबार ‘नेसनल म्युजिक अवार्ड–२०८१’ (एनएमए) मा प्रस्तुति दिन निकै उत्साहित छन् । आफूसँगै एउटै मञ्चमा अन्य चर्चित युवा कलाकारले पनि प्रस्तुति दिने हुँदा स्वप्न झनै हौसिएका छन् । उनीसहित यो मञ्चमा कुमा सागर एन्ड दि ख्वप ब्यान्ड, दुर्गेश थापा, सुशान्त घिमिरे, वाङ्देन शेर्पालगायतको विशेष प्रस्तुति रहनेछ ।
रेडियो कान्तिपुरले पहिलो पटक अवार्ड कार्यक्रमलाई आम दर्शकबीच पुर्याउन कन्सर्टको आयोजनासमेत गर्दै छ । गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने यो कन्सर्टमा सहभागी हुन दर्शकले ई–सेवामार्फत टिकट सुरक्षित गर्न सक्नेछन् ।
गायक स्वप्न अन्य कलाकारको समेत प्रस्तुति हेर्न समय निकालेरै कार्यक्रममा सहभागी हुँदै छन् । उनी यो पटक ‘उपहार’ र ‘राधा’ जस्ता चर्चित गीतमाथि प्रस्तुति दिँदै छन् । यसअघि एनएमएमा स्वप्नले एकल प्रस्तुति दिएका थिए । हालै प्रदर्शनमा आएको ‘राधा’ लाई स्वप्नले गायिका अविज्ञा घिमिरेसँग एक पटक मात्र लाइभ प्रस्तुति दिएका छन् । तीन हजार दर्शक क्षमता भएको कन्भेन्सन सेन्टरमा यी कलाकारको भने दोस्रो लाइभ प्रस्तुति हुनेछ ।
‘एक्लैले त धेरै ठाउँमा प्रस्तुति दिएँ, तर कान्तिपुरको यो अवार्ड गायिकासँगको दोस्रो प्रस्तुति हो, त्यसैले एक्साइटेड छु,’ स्वप्नले सुनाए, ‘नयाँ गीत लिएर दर्शकबीच पुग्नु निकै खुसीको कुरा हो । अर्को, यो पटक कार्यक्रम आउटडोर हुँदै रहेछ । त्यसमा मबाहेक मलाई मनपर्ने धेरै कलाकारले पनि प्रस्तुति दिँदै हुनुहुन्छ, त्यसैले पनि उत्साहित छु ।’ गितारिस्ट, बेसिस्ट, किबोर्डिस्ट, ड्रमर र साउन्डसहित जम्मा ७ जनाको ब्यान्ड सदस्यसहित स्वप्नले प्रस्तुति दिँदै छन् ।
यो पटक स्वप्न ‘उत्कृष्ट पप गायक’को शीर्ष पाँच मनोनयनमा समेत परेका छन् । त्यसैले पनि स्वप्नको उत्साह बढाइदिएको छ । ‘तिम्रो बोलीमा’ बोलको गीतमार्फत उनी यो विधामा अन्य गायक सुशान्त केसी, सुजन चापागाईं, सज्जनराज वैद्य, जोन चाम्लिङ राईसँग प्रतिस्पर्धामा परेका हुन् । ‘आफ्नो कामले मनोनयनमा पर्नु त आफ्नो काम देखिनु नै हो, त्यसले मलाई अझै राम्रा गीत ल्याउनुपर्छ भन्ने हौसला थपिदिएको छ,’ स्वप्नले भने ।
स्वप्नले ‘उपहार’ बोलको गीतलाई ‘एनएमए’ मा प्रस्तुत गर्नुको खास कारण मनसुन हो । खासमा यो गीत मनसुनसँग जोडिएको छ । ‘झरीको रातमा रुझेर आऊ..’ भन्ने गीतका शब्द निकै रुचाइएको छ । एनएमए मनसुनमै आयोजना भइरहेको हुँदा आफूले प्रस्तुतिका लागि ‘उपहार’ छनोट गरेको स्वप्न सुनाउँछन् ।
‘दुश्मन’ बाट ‘पिपुल्स च्वाइस अवार्ड’मा मनोनयनमा परेका दुर्गेश थापा अवार्डको नतिजा सुन्न निकै उत्सुक देखिन्छन् । त्यसैले उनी एनएमएको नतिजा पर्खंदै छन् । ‘मनोनयनमा पर्नु अनि अवार्ड जित्नु जत्तिकै हौसलाको विषय हो, अहिलेसम्म कान्तिपुरले निष्पक्ष अवार्ड वितरण गर्दै आइरहेको छ, मनोनयनमा पर्नु नै नोटिसमा पर्नु हो, म नतिजा पर्खंदै छु,’ दुर्गेशले भने । एनएमएको स्टेजमा भने उनी पहिलो पटक उक्लँदै छन् ।
आफ्नो प्रस्तुतिलाई लिएर नर्भस भएको दुर्गेशले बताए । ‘अवार्ड कार्यक्रममा आफूभन्दा अग्रज पनि आउनुहुन्छ, त्यसैले नर्भस छु, उत्साहित पनि छु,’ दुर्गेश भन्छन्, ‘म उत्कृष्ट प्रस्तुति दिने तयारीमै छु, त्यसैको तयारीमा जुटेको छु ।’ दुर्गेशले यो कन्सर्टमा ‘दुश्मन’, ‘बमबम भोले’ र ‘कि दुर्गेश रेलमा, कि दुर्गेश जेलमा’ बोलको गीतलाई १० जनाको आफ्नो समूहसँगै प्रस्तुत गर्नेछन् । कुमा, स्वप्न र अन्य गायक/गायिकासँग एउटै मञ्चको प्रस्तुति पनि दुर्गेशका लागि पहिलो हुनेछ । ‘दुश्मन’ सार्वजनिक भएदेखि यही गीतमाथि महिनामा करिब ३०/३५ वटा प्रस्तुति दिँदै आएका दुर्गेश एनएमएको प्रस्तुति दर्शकका लागि ‘सरप्राइजिङ’ हुने बताउँछन् ।
गायिका अस्मिता अधिकारीले पनि यो पटक दर्शकका लागि ‘सरप्राइज’ प्रस्तुतिको तयारी गरेकी छन् । खासमा एनएमएले हरेक अवार्डमा दीर्घसाधना सम्मान (लाइफटाइम अचिभमेन्ट) दिँदै आएको छ । संगीतमा योगदान पुर्याएका वरिष्ठ व्यक्तित्वलाई सम्मान दिइरहँदा ती स्रस्टाका गीतमाथि प्रस्तुति दिँदै उनीहरूलाई ‘ट्रिब्युट’ दिइन्छ । गायिका अस्मिता यो पटक त्यही ‘ट्रिब्युट’ गीतमार्फत दर्शकलाई चकित बनाउन उत्सुक छिन् । एनएमएको मञ्चमा अस्मिताको प्रस्तुति यो पहिलो पटक हो । यसअघि अस्मिताले पार्श्व गायिकातर्फ ‘बाबरी रङ’ र युगल गायनमा ‘लजावती झार’ बोलको गीतबाट एनएमए अवार्ड जितेकी थिइन् । त्यसैले प्रस्तुतिकै हिसाबले दर्शकलाई चकित पार्न आफू आतुर रहेको अस्मिता सुनाउँछिन् । ‘यो निकै प्रतिष्ठित अवार्ड हो,
त्यसैले म यो मञ्चमा गाउन आतुर छु, २ वर्षअगाडि मैले दुईवटा अवार्ड पाएको थिएँ, यसअघि प्रस्तुतिको अफर आउँदा विदेशतिर थिएँ, अब यो पटक जुर्यो,’ अस्मिताले भनिन्, ‘ट्रिब्युट सङ सरप्राइज हुनेछ ।’
यसअघि ‘घुमीघुमी’ बाट उत्कृष्ट ‘गीतकार’को अवार्ड उचालेका रचनाकार हर्क साउद गायिका झुमा लिम्बूको मनोनयनलाई लिएर खुसी छन् । यसपालि फिल्म ‘मनसरा’का लागि हर्कले लेखेको ‘झ्यालको’ बाट गायिका झुमा ‘उत्कृष्ट पार्श्व गायिका’ को मनोनयनमा परेकी छन् । यो विधामा झुमासँगै समीक्षा अधिकारी, सुनिता थेगिम, शान्तिश्री परियार र सलिन विक मनोनयनमा परेका छन् ।
१० वर्षपछि आफूले लेखेको गीत एनएमएको मनोनयनमा पर्दा गीतकार अविरल थापा पनि निकै हौसिएका छन् । अविरललाई ‘ठक्कर’ बोलको मोटिभेस्नल गीतले ‘उत्कृष्ट गीतकार’को मनोनयनमा पारेको हो । यो गीतलाई अविरलले ७ वर्षअघि लेखेका थिए । तर गीतमाथि भिडियो बनेपछि हालै युट्युबमा सार्वजनिक भयो । विनोद बानियाँको स्वरमा तयार यो गीतको भिडियोमा कलाकार राजबल्लभ कोइरालाको अभिनय छ ।
‘समाजमा बढ्दै गएको आम निराशा देखिसकेपछि उनीहरूलाई जीवनप्रति आस्था जगाउँ भन्ने सामाजिक उत्तरदायित्त्व भाव बोकेर यो गीत लेखें,’ अविरल भन्छन्, ‘झन्डै १० वर्षपछि रेकर्ड गरेको गीतले म पहिलो पटक एनएमएको मनोनयनमा परें, ठिकै लेख्दो रहेछु भन्ने भान भएको छ ।’
