काठमाडौँ — अभिनेत्री मिरुना मगर नेपाली फिल्ममा महिला चरित्र चित्रण शसक्त हुन थालेको बताउँछिन् । काठमाडौं विश्वविद्यालयले आयोजना गरेको 'चलचित्र सभा'को एक अन्तरक्रियामा अभिनेत्री मगरले आदिवासी जनजाति महिलालाई फिल्मले बलियो रुपमा देखाउन थालेको अनुभव साँटिन् ।
'फिल्म शिक्षा'माथि भएको छलफलमा अभिनेत्री मगरले आदिवासी महिलालाई यसअघि 'भट्टी साहुनी'मै सिमित गराइरहँदा अहिले भने त्यसमा परिवर्तन आएको धारणा राखिन् । खासमा मिरुना बेलायतमा हुर्किन् । विश्वविद्यालयको पढाई उतै गरिन् । हङकङमा जन्मेर केही समय धरान हुर्के पनि उनको धेरै समय बेलायतमै बित्यो । तर, अहिले आफूले गरेका चरित्र मार्फत नै आफूले महिलाका दृष्टिकोण र नेपाली जनजीवन बुझ्न पाएको उनी बताउँछिन् ।
'म यस्तो समयमा फिल्म क्षेत्रमा आउन पाएँ, जहाँ यस्तो ग्रामिण भेगका महिलाका चरित्र लेखिन थालेको छन् । सायद यसअघि महिलालाई यसरी शसक्त रुपमा देखाइएको थिएन होला,'मिरुनाले भनिन्,'आदिवासी महिला चरित्र भट्टीको साहुनीभन्दा माथि उठ्न सकेको थिएन । तर, अहिले त यस्ता महिलाहरु निर्णायक भूमिकामा रहेको चरित्र छन्, त्यहाँ उनीहरुका बलियो निर्णय लिने क्षमता पनि देखाइन्छ ।'
