काठमाडौँ — असार २८ मा आयोजना हुने ‘नेशनल म्यूजिक अवार्ड्स’ (एनएमए)का लागि भोटिङ सुरु भएको छ । रेडियो कान्तिपुरले आयोजना गर्दै आइरहेको यो अवार्ड कार्यक्रमको ‘पिपुल्स च्वाइस अवार्ड’ विधामा भोटिङ खुला गरिएको हो ।
यो विधामा ‘कुमा सागर एण्ड दि ख्वप’को ‘नेपलिज ब्रिलियन्स’, सुशान्त केसी र इन्द्रकला राईको ‘बार्दली’, दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्यै’, शान्तारानी परियारको ‘म त ढलेंढलें’, अनि शान्ती्श्री परियारको ‘रुकुमैकोट’ प्रतिस्पर्धामा छ । यो वर्ष निकै चर्चामा रहेका यी गीतमध्ये कसलाई अवार्ड जिताउने ? त्यो भोटरको हातमा छ । यो विधाको नतिजा भने अवार्ड हुने दिन नै घोषणा गरिनेछ ।
यो कार्यक्रम ३ हजार दर्शक क्षमता भएको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ । पहिलो पटक आयोजकले यो अवार्ड कार्यक्रमसँग कन्सर्ट समावेश गर्दै आम दर्शकका लागि टिकटको व्यवस्था गरेको छ । अवार्डसहितको यो कन्सर्टमा सहभागी हुने इच्छुकले इसेवाबाट पनि टिकट खरिद गर्न पाउनेछन् ।
कार्यक्रममा कुमा सागर, दुर्गेश थापासहित युवा गायकहरू स्वप्न सुमन, सुशान्त घिमिरे, वाङ्देन शेर्पा, अस्मिता अधिकारी, एलिना चौहान, पशुपति शर्मा, कार्टुन क्रु, सुन्दर खनाल र सुजिता श्रेष्ठको विशेष प्रस्तुति रहनेछ ।
