काठमाडौँ — अक्षय कुमार, रितेश देशमुख र अभिषेक बच्चन अभिनित ‘हाउसफुल ५’ले रिलिजको २६औं दिन पनि बक्स अफिसमा व्यापार गरिरहेको छ ।
तर फिल्मको बजेटअनुसारको व्यापार भने भएको देखिन्न । २४० करोडको ठूलो बजेटमा तयार गरिएको फिल्मले लगानी उठाउला त ? यो प्रश्न फिल्मीपारखीहरूबाट उठिरहेको छ ।
फिल्मका निर्माता साजिद नाडियाडवाला सामाजिक सञ्जालमा एक पोस्टपार्फत् फिल्मको पछिल्लो आँकडा सार्वजनिक गरेका छन् । फिल्मले अहिलेसम्म ३ सय करोडबाट बढी कमाइ गरेको उनले उल्लेख गरेका छन् ।
भारतमा फिल्मले २०० करोडको कारोबार गरिसकेको बताइन्छ । अर्थात् विश्वव्यापी हिसाबले हेर्दा, निर्माताहरूले फिल्मको २४० करोडको लगानी उठाइसकेका छन् । अक्षयकुमारको अघिल्ला केही फिल्महरूलाई हेर्ने हो भने कमाइको हिसाबमा ‘हाउसफूल ५’को तुलनात्मक रुपमा राम्रो देखिन्छ ।
उनका अघिल्ला दुई फिल्म ‘केसरी च्याप्टर २’ र ‘स्काई फोर्स’ बक्स अफिसमा औसत रह्यो । सन् २०२३ मा आएको ‘ओएमजी २ सहित अक्षयका पछिल्ला ४ फिल्म फ्लप भएका थिए ।
सन् २०१९ पछि अक्षय कुमारको यो पहिलो फिल्म हो, जसले विश्वव्यापी रूपमा ३०० करोडको आँकडा पार गरेको छ ।
यसअघि, २७ डिसेम्बर २०१९ मा रिलिज भएको ‘गुड न्यूज’ले ३०० करोडभन्दा बढी कमाइ गरेको थियो । त्यसयता अक्षयका १४ फिल्म रिलिज भइसकेका छन् ।
तर कुनैले पनि ३०० करोडको आँकडा पार गर्न सकेका थिएनन् ।
