काठमाडौँ — सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको स्मृतीमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कार’ नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल शम्भुनाथ सप्तरीमा अध्यनरत कक्षा ८ का छात्र प्रज्वल पौडेललाई प्रदान गरिएको छ ।
असार १७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सवको अवसर पारेर सशस्त्र पहरी नायब उपरीक्षक एवं सह-प्रवक्ता शैलेन्द्र थापाले पौडेललाई पुरस्कार प्रदान गरेका हुन् । प्रज्वल पौडेल संगीत विधातर्फ बाध्यबादन र गायनमा उत्कृष्ट ठहरिएका छन् । उनी अहिले द भ्वाइसअफ किड्स सिजन ४ मा समेत ब्याटल राउन्डबाट लाइभ राउन्डमा समेत प्रवेश गरेका छन् ।
यसअघिका वर्षमा सो पुरस्कार नेपाल एपीएफ स्कुल कीर्तिपुरका छात्र रायन घिमिरे, आशिष रोकाया, साइजित पाण्डे, अनिष थापा मगर र अर्जुन झालाई प्रदान गरिएको थियो । पाठकको स्मृतिमा सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सहकर्मी अधिकृतद्वारा सामूहिक रूपमा २०७३ सालमा अक्षयकोष स्थापना गरिएको थियो । कोषमा जम्मा भएको रकमको ब्याजबाट हरेक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवमा सो पुरस्कार नेपाल एपीएफ स्कुलमा अध्ययनरत संगीततर्फ प्रथम हुने छात्र तथा छात्रालाई प्रदान गरिँदै आएको छ ।
२०६४ सालमा खुल्ला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका पाठकले ‘पक्षी र निन्द्रा लाग्दैन’ गरी दुईवटा एल्बम बजारमा ल्याएका थिए । गीत संगीतमा रुचि राख्ने पाठक २०६०/२०६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राइजिङ स्टारको उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए भने आठौं कालिका म्युजिक अवार्डमा उत्कृष्ट कलाकारको उपाधिसमेत हात पारेका थिए ।
गीत लेख्ने, संगीत दिने र आफैं गाउने समेत क्षमता भएका पाठकको प्रतिभालाई अमर राख्नको लागि उक्त अक्षयकोष स्थापना गरिएको हो । कर्तव्य पालनाको सिलसिलामा २०७२ चैत्र २८ गते धादिङको मलेखुमा भएको अकल्पनीय सडक दुर्घटनामा उनको निधन भएको थियो ।
