काठमाडौँ — ‘गीतकार टेक तामाङ सांगीतिक साँझ’ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा २५ जना वाद्यवादकसहित डेढ दर्जन गायक-गायिकाले गायन प्रस्तुत गरेका थिए ।
अतिरिक्त प्रहरी महानिरीक्षकसमेत रहेका गीतकार तामाङका रचनामा किरण प्रधान, शिव परियार, डेबिट शंकर, रुपक चौधरी, सत्यराज आचार्य, स्वरुपराज आचार्य, संगीता राना प्रधान, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सञ्जय तुम्रोक, सुमिना लो, अन्जु पन्त, रेश्मा बमजन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिनले गीत प्रस्तुत गरे ।
गीतकार संघ नेपाल र भीमबहादुर फूलमाया स्मृति पुस्तकालयको सहयोगार्थ सांगीतिक साँझ आयोजना गरिएको हो । सामाजिक सशक्तीकरण र सांस्कृतिक प्रवर्धनमा प्रेरणा दिन कार्यक्रमले सहयोग पुग्ने आयोजक संस्थाका अध्यक्ष एवं कार्यक्रम व्यवस्थापन समितिका संयोजक बसन्त वित्यासी थापाले बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको प्रमुख आतिथ्यतामा भएको सांगीतिक साँझमा स्रोता-दर्शकको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
