काठमाडौँ — नेपालमा हरेक हप्ताजसो नयाँ गीत युट्युबमार्फत सार्वजनिक भइरहेका हुन्छन् । विधागत हिसाबले हेर्ने हो भने पप, फिल्मी र लोकदोहोरी अग्रपंक्तिमा आउँछन् । मेटल विधा यो पंक्तिको पुछारतिर आइपुग्छ । यसको अर्थ नेपालमा यो विधामाथि गीत बन्दै बन्दैन भन्ने पनि होइन । थुप्रै मेटल ब्यान्डले समय अनुकूल मिलाएर मेटल गीत सार्वजनिक गरिरहेका हुन्छन् ।
अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली ब्यान्ड 'नेप्क्याली'ले हालै मेटलको विधामा नयाँ स्वादमा 'महाकाली'बोलको गीत पस्केको छ । नेपाली परम्परा, शक्ति र सांस्कृतिक विश्वास समेटिएको यो मेटल संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्यसहित बजारमा ल्याइएको हो ।
नेपाली लोकधुन, परम्परागत वाद्यवादन, र मन्त्रहरूलाई आधुनिक मेटल र रक संगीतसँग मिश्रण गरिएको 'महाकाली'मा भारी ड्रम, तेज गिटार र गहिरा स्वर सुन्न सकिन्छ । यो गीतलाई ७ पटक ग्रामी मनोनयनमा परेका साउन्ड इन्जिनियर डेनिश मूडीले ध्वनिमा काम गरेका हुन् । उनले यसअघि चर्चित कलाकार डायना रोस, मिस्सी एलियटसँग काम गरेका थिए ।
अर्पण कार्कीको स्वर रहेको यो गीतमा सन्नी श्रेष्ठको गितार, फर्नान्डो जर्मिलोको ड्रम, म्याट किलगोरेको बेस समावेश छ । गीतको भिडियोलाई जनिश जोशीले निर्देशन गरेका हुन् ।
'नेप्क्याली'ले यो गीतलाई केवल गीत नभई आप्रवासी नेपालीहरूको पहिचान, उनीहरूको संघर्ष, र सांस्कृतिक गौरवसहितको सन्देशका रूपमा हेर्छन् । गीतको भिडियोमा मानव, दानव स्वभाव र महाकालीबीचको रस्साकस्सी प्रस्तुत छ ।
