काठमाडौँ — भारतीय फिल्म इतिहासको निकै प्रसिद्ध फिल्म हो ‘शोले’ । यो फिल्म ५० वर्षपछि फेरि ठूलो पर्दामा फर्किएको छ ।
निर्देशक रमेश सिप्पीको निर्देशनमा सन् १९७५ मा बनेको यो कालजयी फिल्म नयाँ दृश्यहरूसहित इटालीको बोलोनियास्थित इल सिनेमा रित्रोभाटो फेस्टिभलमा शुक्रबार विश्व प्रिमियर भएको छ ।
दर्शकहरूलाई मूल संस्करणको पहिलो झलक यहाँ देखाइएको हो । जसमा सेन्सरले हटाएका दृश्यहरू र मूल अन्त्यसमेत समावेश छ ।
सलिम-जावेदको लेखन रहेको फिल्ममा अमिताभ बच्चन, धर्मेन्द्र, हेमा मालिनी, जय भादुरी, सञ्जीवकुमार र गब्बर सिंहको भूमिकामा अमजद खानको अभिनयले निकै चर्चा कमाएको थियो ।
शोलेको मूल संस्करणमा ठाकुरले गब्बरलाई आफ्ना काँटेदार जुत्ताले हत्या गर्छन् । तर सेन्सर बोर्डले यसमा आपत्ति जनाएको थियो ।
संवैधानिक अधिकार निलम्बित गरिएको ‘आपतकालीन’ अवधिमा रिलिज भएकाले फिल्मले असाधारण सेन्सरको सामना गर्नुपरेको थियो । त्यतिबेला फिल्म पुनः सुटिङ गरेर गब्बरलाई पक्राउ गरिने नयाँ अन्त्य राखेपछि मात्र फिल्मले सेन्सर पास पाएको थियो ।
७० एमएम प्रिन्ट हराइसकेको र मूल क्यामेरा नेगेटिभहरू क्षतिग्रस्त अवस्थामा रहेकाले फिल्मलाई पुनर्स्थापना गर्नु चुनौतीपूर्ण थियो ।
तर २०२२ मा निर्देशक सिप्पीका छोरा शहजाद सिप्पीले फिल्म हेरिटेज फाउन्डेसनसँग सहकार्य सुरु गरेका थिए । मुंबईस्थित एउटा गोदाममा रहेका ३५ एमएम क्यामेरा र ध्वनि नेगेटिभहरू फेला परेका थिए ।
थप सामग्री बेलायतस्थित ब्रिटिस फिल्म इन्स्टिच्युटमा फेला परेपछि ती सबै सामग्रीहरू अत्याधुनिक प्रविधिबाट पुनर्स्थापना गरियो ।
शोले प्रदर्शनको सुरुवातमा समीक्षकहरूले चर्को आलोचना गरेका थिए । तर केही सातामा नै मौखिक प्रचारले फिल्मले गति लिएको थियो । आरडी बर्मनको संगीत, अविस्मरणीय संवाद र गब्बर सिंहको खतरनाक व्यक्तित्वले फिल्मलाई उचाईमा पुर्याएको थियो ।
