काठमाडौँ — अनन्या फिल्म्सको ब्यानरमा फिल्म 'घोस्टेल' बन्ने भएको छ । हालै निर्माण टोलीले फिल्मको थिम पोस्टर सार्वजनिक गरेको छ । यो फिल्ममा हरर र कमेडी विधाको संयोजन रहनेछ ।
'ह्वेन हरर मिट्स हाहा' अर्थात् 'त्रासले जब हाँसो भेट्छ' भन्ने कुरालाई पोस्टरमा विशेष स्थान दिइएको छ । यो फिल्मका निर्माता सरोज न्यौपाने हुन् । उनले भने अनुसार फिल्मका लागि कलाकार तय भइसकेका छैनन् ।
फिल्मको कथा सुयोग गुरुङको हो । यो फिल्मको निर्माणमा गुरुङले पनि सहकार्य गर्नेछन् । 'जेरी अन टप'को छायांकन लगत्तै निर्माता न्यौपाने र निर्देशक गुरुङ नयाँ फिल्म निर्माणमा जुटेका हुन् ।
यो फिल्मलाई सुरज सुनुवारले निर्देशन गर्नेछन् । 'षडङ्ग', 'खजुरे ब्रो'जस्ता फिल्म निर्देशन गरिसकेका सुनुवारको 'घोस्टेल' तेस्रो निर्देशकीय फिल्म हो । 'जेरी अन टप' आगामी तिहारमा प्रदर्शनमा आउने जनाइएको छ । यो फिल्मको प्रदर्शनलगत्तै 'घोस्टेल'को छायांकन प्रारम्भ हुनेछ ।
