काठमाडौँ — क्यानाडामा 'नेपाली क्रिएटर्स फेस्ट २०२५' हुने भएको छ । आयोजक संस्था मानभी फाउन्डेसनले अन्तर्राष्ट्रिय विद्यार्थी, नयाँ आप्रवासी, युवा, तथा क्यानाडामा बस्ने नेपालीलाई सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्न यो प्लेटफर्म दिने तयारी थालेको हो ।
यो कार्यक्रममा नृत्य, गायन, फोटोग्राफी, भिडियोदेखि कविता, कला, संगीतलगायत विभिन्न विधासहित इच्छुक सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धाको मूल्यांकन नेपाल, क्यानाडा र अमेरिकाका निर्णायकले गर्नेछन् ।
भर्चुअल रुपमा सुरु भएपनि यो कार्यक्रमको ग्रान्ड फिनाले टोरन्टोमा प्रत्यक्ष रूपमा आयोजना गरिने आयोजक संस्थाका विधान कार्कीले बताए । 'यो केवल प्रतिस्पर्धा मात्र होइन, सांस्कृतिक एकता, प्रतिभा अभिव्यक्ति र नयाँ सञ्जाल निर्माण गर्ने एक सुनौलो अवसर हो,' उनले भने ।
