‘आइस रोड : भेन्जेन्स’को ट्रेलरमा नेपाली दृश्य

असार ११, २०८२

कान्तिपुर संवाददाता

Nepali scene in the trailer of 'Ice Road: Vengeance'

काठमाडौँ — नेपालमा करिब दुई हप्ता छायांकन भएको अमेरिकन एक्सन थ्रिलर फिल्म फिल्म ‘आइस रोड : भेन्जेन्स’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा नेपालको पाटन क्षेत्र र नेपाली गाउँका दृश्यहरू देख्न सकिन्छ । अष्ट्रेलियामासमेत नेपाली गाउँको सेट बनाएर फिल्मको सुटिङ गरिएको थियो । ‘नेपालमा सन् २०२२ र ०२३ गरी दुई पटक सुटिङ गरिएको थियो,’ नेपालमा फिल्मको निर्माण व्यवस्थापन गरेको आइसफल प्रोडक्सनका प्रमुख रामकृष्ण पोखरेलले भने ।‌

फिल्मलाई जोनाथन हेन्स्लेले निर्देशन गरेका हुन् । फिल्मको ट्रेलर २ मिनेट २७ सेकेन्डको छ । यसअघि ०२१ मा फिल्मको पहिलो भाग ‘आइसरोड’ रिलिज भएको थियो । यो दोस्रो शृंखला हो ।

फिल्मको कथामा माइक (लिआम नीसन) नामका पात्र आफ्नो दिवंगत भाइको अस्थी सेलाउने उद्देश्यले नेपालको सगरमाथा यात्रामा हिँड्छन् ।

जब उनी एक स्थानीय गाइडसँग पर्यटकहरूसहितको टुर बसमा यात्रा गरिरहेका हुन्छन्, उनीहरू अचानक  दुश्मनहरूसँग ठोक्किन पुग्छन् । यहाँबाट फिल्मको संघर्ष सुरु हुन्छ ।

फिल्ममा अभिनेता लिआम नीसनको मुख्य अभिनय छ । त्यसैगरी चिनियाँ अभिनेत्री फ्यान बिङबिङ र अमेरिकी अभिनेता मार्कस थोमस पनि मुख्य भूमिकामा देखिनेछन् । फिल्म आगामी २७ जुनमा रिलिज हुनेछ ।

कान्तिपुर

Link copied successfully