काठमाडौँ — वृत्तचित्र 'जिरो टू ८८४८' को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा कार्यक्रम गर्दै निर्माण टिमले वृत्तचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
नेपालकै होचो ठाउँ झापाको कचनकवलदेखि सगरमाथाको चुचुरोसम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रा समेटिएको यो वृत्तचित्रलाई निरञ्जन पाण्डे र बलराम बुढाथोकीले संयुक्त रूपमा निर्देशन गरेका हुन् ।
वृत्तचित्रमा सञ्चारकर्मी प्रेम बानियाँको सगरमाथा आरोहणदेखि १८ पटक सगरमाथा टेकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, आरोही, तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पालगायतको यात्रा प्रस्तुत छ । प्रेमका अनुसार यो वृत्तचित्र देश चिनाउने उनको अठोट हो ।
'यो केवल वृत्तचित्रमात्रै होइन । देश चिनाउने हाम्रो अठोट हो,’ प्रेमले भने, ‘समुद्री सतहबाट ५८ मिटरमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाउन सकिन्छ र त्यहाँ एउटा गाउँ बसाल्न सकिन्छ, जहाँबाट सगरमाथासम्मको यात्रा गर्न सकिन्छ भन्ने अवधारणा हामीले यसमार्फत अघि सारेका छौं' ।
वृत्तचित्रलाई निर्देशकद्वय निरन्जन र बलरामले मिलेर सम्पादन तथा छायांकन गरेका हुन् । सगरमाथा शिखरका दृश्य सुजन गुरुङ र दोजी शेर्पाले खिचेका हुन् ।
