दुर्गेशको ‘दुश्मन हेरेको हेर्‍यै’ले १० करोड भ्युज पाएपछि प्रधानमन्त्रीको बधाई

असार ९, २०८२

कान्तिपुर संवाददाता

Durgesh's 'Dushman Hereko Heryai' got 100 million views and congratulated the Prime Minister

काठमाडौँ — गायक तथा मोडल दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युबमा १० करोडभन्दा बढी पटक हेरिएपछि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् ।

ओलीले बिहीबार फेसबुकमार्फत लेखेका छन्, 'आजको नयाँ पुस्ताले बेग्लै स्वादका गीत/संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्‍यै गीतको भ्युजबाट थाहा हुन्छ । दुर्गेश थापाको यो गीतलाई पाँच महिनामा १०० मिलियनभन्दा बढीले सुनेका छन् । गीतका सर्जक दुर्गेश थापालाई बधाई !'

सार्वजनिक समारोह वा विभिन्न कार्यक्रममा हालसम्म पनि दुर्गेशको उक्त गीत बज्ने गरेको छ, जसमा युवायुवतीहरू नाच्ने गरेका छन् ।

गायक दुर्गेशले फेसबुकमार्फत आफ्ना सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्, 'देशका प्रधानमन्त्रीज्यूले नेपाली गीत–संगीतको मूल्य र सम्भावना चिन्नुभएको यो क्षण सम्पूर्ण सिर्जनशील पुस्ताका लागि गर्वको विषय पक्कै हो । उहाँको शब्द केवल एउटा बधाई मात्र थिएन, त्यो नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाको सम्बोधन थियो ।'

यसअघि पनि दुर्गेशका गीतहरू युट्युबमा हिट हुने गरेका थिए । पहिलेका गीतहरू शब्द चयनका कारण विवादित हुने गरेका भए पनि ‘दुश्मन हेरेको हेर्‍यैमा आफू संवेदनशील भएको उनले बताउँदै आएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully