१७ वर्षपछि पलेँटीमा फेरि गुञ्जँदैछन् बद्री–दुर्गा

असार ८, २०८२

कान्तिपुर संवाददाता

After 17 years, Badri-Durga is resounding again in Palenti

काठमाडौँ — यसपटक नेपालयको पलेँटीमा दार्जिलिङका प्रसिद्ध सांगीतिक जोडी बद्री खरेल र दुर्गा खरेल गुञ्जिने भएका छन् ।

यो जोडीले यसपटक गीतकार दिनेश अधिकारीका नयाँ शब्दमा पनि धुन भरेर ल्याएका छन् । हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको आरशालामा पलेँटी आयोजना हुने गर्छ । बद्री, दुर्गा दार्जिलिङमात्र नभई नेपालीभाषी श्रोताबीच स्थापित नाम हुन् ।

यो सांगीतिक जोडीको सिर्जना ‘बोलाऊँ भने तिमीलाई बात लाग्ने डर’ आज पनि उत्तिकै लोकप्रिय छ । ‘पुराना सांगीतिककर्मीहरूलाई नयाँ सिर्जनाका निम्ति झकझकाउनुपर्छ भन्ने उद्देश्य पलेँटीले लिएको छ ।

त्यही भएर यसपालिको कार्यक्रमलाई आंशिक रुपमा गीतकार दिनेश अधिकारीसँग संगीतकार बद्री, दुर्गा खरेललाई जोड्ने चाँजो मिलाएका हौँ,’ कार्यक्रम संयोजक आभास भन्छन् । '

दुर्गा पहिलो पटक सन् २००८ मा पलेँटीमा गुन्जिएका थिए । लामो समयपछिको पुनरागमनले आफूहरू आनन्दित भएको उनी बताउँछन् । ००८मै पहिलो पटक गुन्जिएका बद्री पनि पहिले जस्तै, संगीतप्रेमीको माया पाउनेमा विश्वस्त छन् । 

कार्यक्रम आगामी जुन २७ र २८मा हुनेछ ।

कान्तिपुर

Link copied successfully