अब नेपालमा बज्ने भारतीय संगीतको रोयल्टी भारतीय कलाकारलाई दिनुपर्ने

भारतमा बज्ने नेपाली संगीतबापत भारतले नेपाललाई रोयल्टी बुझाउनुपर्ने

असार ५, २०८२

कान्तिपुर संवाददाता

Now royalty of Indian music played in Nepal should be given to Indian artists

काठमाडौँ — नेपाल र भारतका संगीतकर्मीहरूबीच रोयल्टी संकलन तथा वितरणसम्बन्धी द्वीपक्षीय सम्झौता भएको छ । जापानको राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा नेपाली संगीतकर्मीहरूको संस्था ‘पर्फर्मर्स सोसाइटी अफ नेपाल’ र भारतको ‘इन्डियन सिङ्गर्स एन्ड म्युजिसियन राइट्स एशोसिएसन’ बीच यो सम्झौता भएको हो ।

सम्झौतापत्रमा पर्फर्मर्स सोसाइटी अफ नेपालका उपाध्यक्ष निर्णय एनएसके र इन्डियन सिङ्गर्स एन्ड म्युजिसियन राइट्स एशोसिएसनका संस्थापक सञ्जय टन्डनले हस्ताक्षर गरेका छन् । यससँगै अब नेपालमा भारतीय कलाकारका गीत-संगीत सार्वजनिक रूपमा (जस्तै- होटल, रेस्टुरेन्ट, टेलिभिजन, रेडियो, यातायात, पिकनिक स्थल लगायत) मा प्रयोग गर्दा भारतीय कलाकारलाई सो बापतको रोयल्टी नेपालले तिर्नुपर्नेछ । त्यस्तै, भारतमा नेपाली कलाकारहरूको संगीत बज्दा भारतले पनि नेपालीलाई रोयल्टी बुझाउनुपर्नेछ ।

सो अवसरमा विश्वभरका कलाकारहरूको अधिकार व्यवस्थापन गर्ने संस्था ‘एससीएपीआर’का प्रबन्ध निर्देशक रेमी डेस्रोसिएर्ससँगै एसियाका विभिन्न देशका कलेक्टिभ म्यानेजमेन्ट अर्गनाइजेसन (सीएमओ) का प्रतिनिधि उपस्थित थिए । पर्फर्मर्स सोसाइटी अफ नेपालले यसअघि जापान, मलेसिया, थाईल्यान्ड र फिलिपिन्सका सीएमओहरूसँग पनि यस्तै प्रकृतिको द्विपक्षीय सम्झौता गरिसकेको जनाएको छ ।

के हो सीएमओ ?

कलेक्टिभ म्यानेजमेन्ट अर्गनाइजेसनले संगीतकर्मी, गीतकार, संगीत निर्माता, लेखकलगायत सर्जकहरूको अधिकार व्यवस्थापनको काम गर्छन् । कुनै पनि गीत-संगीत प्रयोगका लागि अनुमति (लाइसेन्स) दिने, रोयल्टी संकलन गर्ने र सम्बन्धित अधिकारवालालाई वितरण गर्ने जिम्मेवारी पनि सीएमओहरूको हो ।

कान्तिपुर

Link copied successfully