'जारी २' दसैंमा आउने

असार ३, २०८२

कान्तिपुर संवाददाता

'Zaari 2' to release on Dasain

काठमाडौँ — ३६ दिनमा छायांकन सकाएको फिल्म 'जारी २' दसैंमा प्रदर्शन गर्ने भएको छ । निर्माण टिमले फिल्मको छायांकन सकिएको जानकारी गर्दै 'जारी २'को प्रदर्शन मिति तय गरेको हो । 

यो फिल्मलाई कवि एवं निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । फिल्मको छायांकन पाँचथरमा गरिएको हो । निर्माण कम्पनी बाँसुरी फिल्म्सले अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको चरित्र चिनाउने तस्बिर पनि सार्वजनिक गरेको छ । लिम्बू पहिरनमा सजिएकी मिरुना परिवारसँग कतै गइरहेको देखिन्छ त अर्कोतिर दयाहाङ च्याम्ब्रुङ बजाउँदै देखिन्छन् ।

यसअघि २०८० मा ब्लकबस्टर भएको 'जारी'लाई निर्देशक सुब्बाले नै निर्देशन गरेका थिए । यो फिल्मले १७ करोडमाथिको व्यापार गरेको थियो । दर्शकबीच रुचाइएको यो फिल्मको सिक्वेल 'जारी २' दर्शकबीच निर्माण घोषणादेखि नै प्रतिक्षित बनेको छ । 

'जारी २'मा अभिनेता दया र मिरुनासँगै कलाकारहरु विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तानलगायतको अभिनय छ ।

कान्तिपुर

Link copied successfully