द्वन्द्व पीडितको न्याय कहाँ हरायो ?

मण्डला नाटकघरमा मञ्चनरत नाटक 'मञ्जिरा: द म्यूटेड मेलोडी'ले युद्ध घाउको गहिराइ नाप्दै हिंसामा परेका महिलाको न्यायका लागि वकालत गर्छ

असार १, २०८२

रीना मोक्तान

Where did the justice of the conflict victims disappear?

काठमाडौँ — युद्धले दिएको घाउले कति वर्ष पिराउला, १० या २० वर्ष ? कतिन्जेल चह्राउला त्यसको चोट ? द्वन्द्वकालमा हिंसा, दुर्व्यवहार र बलात्कार सहेका पीडितका कति रात अनिदोमा बित्दो हो ? युद्ध पीडाले झस्काइरहँदा अर्धचेतन मनमा उनीहरू के बर्बराउँदा हुन् ? कसरी बर्बराउँदा हुन् ? गुमेको न्याय, दु:खेको आत्मसम्मान र बल्झिरहने यातनाले दोहोर्‍याइ ल्याउने उकुसमुकुस र छटपटी कति दुख्दो हो ? 

मण्डला नाटकघरमा मञ्चनरत नाटक 'मञ्जिरा: द म्यूटेड मेलोडी'ले युद्ध घाउको गहिराइ नाप्दै हिंसामा परेका महिलाको न्यायका लागि वकालत गर्छ । सोमनाथ खनालको परिकल्पना तथा निर्देशन, निर्देशक खनालसँग मिलेर सन्देश घिमिरेले लेखेको यो नाटकले द्वन्द्वको बर्बरता, क्रूरता र भयावहलाई प्रस्तुत गर्दै न्यायका लागि मौन बसेको समाज, न्याय प्रणाली र राज्यसँग प्रश्न गर्छ । के द्वन्द्वकालमा हिंसामा परेका महिलाहरूले न्याय पाए त ? आखिर उनीहरूले न्यायकै लागि समाजमा अझै कति युद्ध लड्ने ? हिंसा गर्नेहरू खुलेआम समाजमा हिँडिरहँदा उनीहरूले आफ्नो जीवन किन छटपटीमै बाँचिरहनु पर्ने ? न्यायको यो लडाइँमा सचेत नागरिक र संवेदनशील समाज कहाँ उभिदिनुपर्छ ?

चर्चित नाटक 'डेथ एन्ड दि मेडन'को थिममा आधारित 'मञ्जिरा: द म्यूटेड मेलोडी' निसास्सिँदै बाँचिरहेकी मञ्जिरा(सरस्वती चौधरी)को कथा हो । काठमाडौँबाट शान्ति खोज्दै बर्दिया सरेका अधिवक्ता गोपाल(सरोज खनाल)को परिवारकहाँ मञ्जिराको पति प्रेम (सशांक मैनाली) ड्राइभरी गर्छन् । गोपालको पत्नी शान्ति(सरिता गिरी)लाई बर्दियाको गर्मीले शान्ति दिइरहेको छैन । अधिवक्ता पेसा छाडेर गृहिणी बनेकी शान्तिलाई तब शान्ति मिल्छ, जब गोपाललाई द्वन्द्व पीडितको न्यायसँग सम्बन्धित उच्चस्तरीय छानबिन आयोगको अध्यक्ष बनाउने खबर उनीकहाँ आइपुग्छ ।

घरमा आइपुगेको पाहुना कवीन्द्र(अनुप न्यौपाने)ले नै गोपाल आयोगको अध्यक्ष बन्दै गरेको कुरा शान्तिको अगाडि फुत्काइदिन्छन् । गोपाल आयोगको अध्यक्षमा नियुक्त हुनु, अनि कवीन्द्र उक्त परिवारसँग नजिकिँदै जाँदा त्यहाँ एउटा रहस्यमय धुन गुञ्जन थाल्छ । जुन धुनले मञ्जिरा विक्षिप्त बन्छिन्, उनका घाउ आलो भइदिन्छ । अनि उनी पानीबाट किनाराकृत गराइएको माछाझैं छटपटाउँछिन्, बरबराउँछिन् । यो धुनको रहस्य खोतल्दै जाँदा मञ्जिरा र युद्धको विगत वर्तमानमा फर्किन्छ ।

झट्ट सुन्दा मिठो लाग्ने यो धुन पछाडिको नमिठो लय नै 'मञ्जिरा: द म्यूटेड मेलोडी'को कथा हो । यो धुन नाटकमा प्रयोग सबैभन्दा बलियो बिम्ब हो । हार्मोनिकाको यो धुन सुन्दर सुनिन्छ । तर यो धुनले सम्झाउने नरसंहार, यातना र पीडितका उत्पीडन र मानसिक स्वास्थ्य सवालका ध्वनि निकै कर्कशपूर्ण छ । युद्ध सुन्दर नारा, सपना र वादहरू बोकेर उभियो । तर, यही युद्धले मञ्जिराहरुलाई बिर्सनै नसकिने कर्कश धुन छाडी गयो । मञ्चमा मञ्जिराको अतित पुर्‍याउने ढोकाको प्रयोग छ, जुन द्वारले मञ्जिरालाई त्यो कहाली लाग्दो क्षणमा पुर्‍याउँछ, जहाँ यो सुन्दर धुनले कुरूपता पक्रन्छ । यो ढोका उघारिनु, यो धुनले बल्झाउने त्यो नमिठो सत्यमा पुग्नु हो । 

नाटकले विषाक्त पुरुषत्व र पितृसत्तात्मक समाजलाई व्यङ्ग्य गर्छ । कवीन्द्र र गोपालको चरित्रमार्फत् यो विषयलाई उभ्याइएको छ । अधिवक्ता गोपाल अभियन्ता हुन्, तर उत्पीडितहरूका मुद्दामा संवेदनशील देखिँदैनन् । द्वन्द्व पीडितले आँखै सामू आफ्ना बयान राख्छन्, यति ठूलो पीडाबारे वर्षौंपछि बोल्दा उनलाई सुनिदिनुपर्छ भन्ने सामान्य ज्ञान उनलाई छैन । पीडितलाई झनै अविश्वास गरिदिन्छन् ।

अर्को त उनी आफ्नो पत्नीले गरेको त्याग देख्दैनन् । पत्नी शान्तिले परिवारका लागि अधिवक्ता जीवन छाडिदिन्छिन्, गोपालका लागि त्यो 'सामान्य' विषय हो । कविन्द्रसँग बोलिरहँदा गोपालले महिलाप्रतिको आफ्नो पाखण्डीपन देखाउँछन् ।

'खास खास भेलाका कुराहरू घरका महिलाहरूलाई भन्नु हुँदैन । उनीहरूले त्यसमा प्रभाव पार्न खोज्नछन्,' गोपालले कवीन्द्रलाई भन्छन् । कवीन्द्रको दृष्टिकोण पनि स्त्रीदेषीले भरिएको छ । पत्नीसँग पारपाचुके गरिसकेका उनी बोलीपिच्छे आफ्नो पत्नीलाई दोषी ठहराइरहन्थे ।

त्यति मात्रै होइन उनी आफूभित्रको भडास, यौन कुण्ठा र बदला महिलामाथि पोख्छन् । महिलालाई तथानाम गाली बक्छन् । पहिचानको राजनीति, भूइँमान्छेका समस्या र महिला पीडामाथि असंवेदनशील बन्छन् ।

उनी महिलालाई मानव ठान्दै ठान्दैनन् ।कवीन्द्र चरित्रमार्फत नाटकले स्त्रीद्वेषी दृष्टिकोण, विषाक्त पुरुषत्वलाई प्रस्तुत गर्छ । यी दुई पुरुष चरित्रमार्फत 'मञ्जिरा'ले समाजमा भएका संकुचित पुरुषत्वलाई व्यंग्य गर्छ ।

नाटकमा प्रेमजस्ता पुरुषलाई पनि खडा गरिएको छ, जो समान व्यवहार, न्याय र उन्मुक्तीका पक्षमा उभिन्छन् । जो पीडितका पीडालाई बुझिदिन्छन् । महत्त्वपूर्ण पक्ष त उनी पीडितका भोगाइलाई सुनिदिन्छन् । महिलाका त्याग, आत्मसम्मान र स्वाभिमानको पक्षमा बोलिदिन्छन् । न्याय पाउने लडाइँमा सँगसँगै उभिने आड, भरोसा र साथ दिन तत्पर छन् । प्रेम त्यस्ता सहयात्रीको उदाहरण हो, जसले युद्धले दिएको मानसिक तनाव, अपमान, हीनताबोध र समाजको लाञ्छना सामना गरिरहेकी पीडित महिलाको आड बनेर उभिइदिन्छन् ।

'मनवा सुहावन…'मञ्जिराको टाउको दुख्ने बित्तिकै प्रेमले गाउने यो गीतमै पनि त्यो साथ र आड झल्कन्छ । नाटकमा प्रेम पात्रमार्फत समाजमा भएका गोपाल र कवीन्द्रका सोचाइमाथि व्यङ्ग्य प्रहार गरिएको छ । 

'मञ्जिरा: द म्यूटेड मेलोडी'ले महिला सशक्तीकरणको मुद्दा उठाउँछ । नाटकमा 'मञ्जिरा'जस्ता महिला छन् जो आफूसँग भएको बर्बरताविरुद्ध उभिने साहस बटुल्छन् । आफ्नो रक्षाका लागि बन्दुक दागेर उभिन सक्छे, मञ्जिरा । प्रश्न गर्न सक्छे अनि न्यायको लडाइँ लड्न सक्छे । वर्षौंदेखि सहँदै आएको पीडा बोकेर बाँच्ने हिम्मत पहिल्याउँछे ।

यसबीच गृहिणी शान्तिले अधिवक्ता पेशामा फर्कने निर्णय लिन्छिन् । खासमा आफूमाथि भइरहेको दमन र अपमान बुझेरै शान्तिले अधिवक्ता बन्ने निर्णय लिन्छिन् । यो चरित्रमा आएको परिवर्तनमार्फत् नाटकमा महिला सशक्तीकरणको पक्ष प्रस्तुत गरिएको छ ।

यो नाटकले पीडितको मानसिक स्वास्थ्यको सवाललाई पनि देखाएको छ । जब-जब हार्मोनिकाको धुन पृष्ठभूमिमा बज्छ, मञ्जिरा छट्पटिन थाल्छिन् । दु:खेको टाउको समातेर उनी विक्षिप्त हुन्छिन् । यो दृश्यले ती तमाम महिलाको मानसिक स्वास्थ्य देखाउँछ, जो अझै यो पीडासँगै न्याय पर्खिरहेका छन् । मञ्जिराको भूमिकामा अभिनय गरेकी सरस्वती चौधरीले यो चरित्रमार्फत् ती महिलाले सहेको पीडा, मानसिक यातना र चोटहरूलाई दुरुस्तै मञ्चमा उभ्याइदिएकी छन् ।

त्यस्तै, कलाकार सरिता गिरीले शान्ति चरित्रको चञ्चलता, निर्दोषी र उनमा आएको परिवर्तनलाई सशक्त अभिनयमार्फत् प्रस्तुत गरिदिएकी छन् । सरोज खनाल, अनुप न्यौपाने र शशांक मैनालीले पनि चरित्र सुहाउँदो अभिनय पस्केका छन् । 

युद्ध ठूल्ठूला मुद्दाहरूका लागि भए । ती मुद्दाले गन्तव्य भेटायो भेटाएन ? बहस छेडिन्छन्, छेडिरहन्छन् । तर, युद्धका आघात बोकेर बाँचिरहेका मञ्चिराका पीडामाथि कसैको ध्यान पुग्दैन । भुइँमान्छे, दलित र महिलाका मुद्दा भजाएरै सत्तामा पुगेकाहरूले त यो विषयलाई नजरअन्दाज नै गरिदिए ।

तर, निर्देशक सोमनाथ र लेखक सन्देशले फेरि यो संवेदनशील विषय उठाउँदै बहसको बाटो खोलिदिएका छन्,– अझै मञ्जिराहरुले कतिन्जेल युद्ध घाउ बोकेर हिँड्नुपर्ने हो ? द्वन्द्व पीडितको न्याय कहाँ हरायो ?

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully