काठमाडौंमा देखाइयो 'सिकागो द म्युजिकल' 

असार १, २०८२

कान्तिपुर संवाददाता

'Chicago the Musical' was shown in Kathmandu

काठमाडौँ — क्लब एलओडीमा चर्चित नाटक 'सिकागो द म्युजिकल' मञ्चन भएको छ । आलिजे बाइनिकको निर्देशनमा तयार भएको यो नाटक एकैदिनका लागि शनिबार काठमाडौंमा अवस्थित क्लबमा मञ्चन भएको हो । 

नाटकमा विजय ताम्राकार, लुनिभा तुलाधर, सिर्जना रेग्मी, निर्देशक बाइनिकलगायत थुप्रै कलाकारले अभिनय गरेका थिए। सन् १९२६ मा मौरिन डालसले लेखेको नाटकमा आधारित ‘सिकागो’ले वास्तविक हत्याका कथालाई समेट्छ, जुन घटनामा अधिकांश महिला सम्मिलित हुन्छन्। मौरिनले समाचार लेख्दा संकलन गरेका यस्तै हत्या सम्बन्धी घटनालाई नाटकको कथा बनाएकी हुन्।

नाटकमा रोक्सी र भेल्मा भन्ने महिला पात्रको कथा केन्द्रमा छ। कुक काउन्टी जेलमा भेटिएका रोक्सी र केल्माले आफूलाई हत्या घटनाबाट बचाउन कस्ता प्रयास गर्लान्? अधिवक्तादेखि मिडियामाथि पकड जमाइरहन ती महिलाले के–कस्ता कदम चाल्छन्? ‘सिकागो द म्युजिकल’मा महिलाले आफूलाई सशक्त बनाउन र आफ्ना उद्देश्य प्राप्तिका लागि कस्ता संघर्ष र विकल्प खोज्छन् भन्ने देखाइएको छ। एलओडीको भव्य प्रकाशमा कलाकारको जम्बो टोलीले ‘सिकागो द म्युजिकल’को कथा अभिनयमार्फत प्रस्तुत गरेका थिए।

नाटकमा कलाकार सिर्जना रेग्मीले रोक्सीको भूमिकामा अभिनय गरेकी थिइन्। रोक्सी भेल्मा जत्तिकै चर्चित बन्ने दौडमा हुन्छिन्। त्यस्तै, भेल्माको चरित्रमा निर्देशक बाइनिक आफैं देखिएकी थिइन्।

शहरमा प्रख्यात जीवन बिताइरहेकी भेल्माले आफ्ना पति र बहिनीको हत्या गरिदिन्छिन्। मञ्चमा प्रस्तुति दिइरहँदा प्रहरीले भेल्मालाई पक्राउ गरेर काउन्टी जेल पुर्‍याउँछन्। काउन्टी जेलकी जेलर मामा मोर्टिनको भूमिकामा कलाकार लुनिभा तुलाधरले अभिनय गरेकी छन्। मामा मोर्टिन पैसाका लागि जेलका नियम तोडिदिने चरित्र हुन्।

नाटकको अर्को चर्चित चरित्र अधिवक्ता बिल्लीको भूमिकामा कलाकार इलम दीक्षितले अभिनय गरेका छन्। बिल्ली अपराध मुद्दा हल गरिदिन सक्ने प्रख्यात अधिवक्ता हुन्। रोक्सीका पति अमोसको भूमिकामा कलाकार विजय ताम्राकारले अभिनय गरेका थिए। अमोस पत्नीलाई यति माया गर्छन् कि पत्नीको बचाउका लागि उनले सबै प्रयास गर्छन्।

ज्याज संगीत, नृत्य, गायनबीच कलाकारको अभिनयले ‘सिकागो’को त्यो अपराध र शक्तिशाली महिलाको कथा काठमाडौंका दर्शकका लागि सजीव बनेको थियो।

एकै दिनका लागि मात्रै आयोजना गरिएको उक्त नाटकमा ध्वनि समस्याका कारण केही संवाद दर्शकहरूसम्म सम्प्रेषण हुन सकेनन्।

कान्तिपुर

Link copied successfully