एलओडीमा आज, ‘सिकागो द म्यूजिकल’

जेष्ठ ३१, २०८२

कान्तिपुर संवाददाता

Today at LOD, 'Chicago the Musical'

काठमाडौँ — ‘सिकागो’, मञ्चको छेउतिर उभिएको एक पुरुषले उद्घोषण गर्ने बित्तिकै क्लब एलओडीको मञ्चमा रंगीन बत्तीहरू बल्छन् । अनि पियानोको धुन बज्छ । त्यतिकैमा मञ्चमा गीत गाउँदै देखा पर्छिन्, रोक्सी ।

रोक्सीको भूमिकामा देखिएकी कलाकार हुन्, सिर्जना रेग्मी । सेतै कपाल, सेतो पहिरनमा रोक्सी मञ्चमा नृत्य गरिरहेकी छन् । त्यतिकैमा छाता लिएर मञ्चमा देखा परे, कलाकार विजय ताम्राकार(आमोस) ।

रोक्सीको पतिको भूमिकामा देखिएका आमोस, त्यसपछि अधिवक्ता बिल्ली(इलम दीक्षित)सँग गफिन पुग्छन् । यो चर्चित नाटक ‘सिकागो द म्यूजिकल’को ‘एक्ट दुई’को दृश्य हुन् । शुक्रबार कलाकार यसरी नै मञ्चमा नाटकको रिहर्सल गर्दै थिए, उनीहरुलाई निर्देशन गर्दै थिइन्, निर्देशक आलिजे बाइनिक । 

आज यही नाटक ‘सिकागो द म्यूजिकल’को एउटै मात्र सो एलओडीमा मञ्चन हुँदैछ । यो नाटक यस्ता महिलाहरुको कथामा आधारित छ, जसो विभिन्न कारणले हत्यामा संलग्न भएका छन् । कुक काउन्टीको जेलमा रहेका अधिकांश महिला कुनै न कुनै हत्यामा संलग्न भएकै हुन्छन् । यो नाटकमा ती महिलाहरु कसरी ती हत्यामा संलग्न भए भन्ने कथा उघारिँदै जान्छ ।

रोक्सी, आमोस, बिल्लीलगायतका पात्रले कथामा कस्तो उतारचढाव ल्याउँछन् त ? मौरिन डालस वाटकिन्सद्वारा लिखित नाटक पढिसकेका, अथवा यसमाथि बनेको फिल्म हेरिसकेकालाई ‘सिकागो’को हत्या कथा थाहै होला । थाहा नहुनेले आज एलओडीको मञ्चमा सिकागोको ‘मर्डर मिस्ट्री’ हेर्न पाउँदैछन् । महिला शसक्तिकरणको कथा बोकेको यो नाटकमा थुप्रै त्यस्ता शक्तिशाली महिलाको जीवन देखाइएको छ, जो बाँच्नका लागि संघर्षरत छन् । 

Today at LOD, 'Chicago the Musical'

निर्देशक आलिजेलाई सँधै यो ब्रोडवे नाटकमाथि काम गर्ने चाह थियो । ब्रोडवेको यो नाटकमा पर्फमिङ आर्ट, संगीत, नृत्य अनि अभिनय सबै समेटिएको हुन्छ । त्यसैले आलिजेले यो नाटक गर्नु अगाडि ‘सिगाको द म्यूजिकल’लाई कसरी भव्य प्रस्तुत गर्न सकिन्छ भन्ने सोचिन् । काठमाडौंका थिएटरमा नाटक गरिरहँदा त्यहाँ भएका कुर्सी, सानो मञ्च र प्रकाशमा काम गर्न आलिजेको चित्त बुझेन ।

‘सिकागो’ त आफैमा भव्य र सान्दार नाटक । त्यसैले पनि यो नाटकलाई क्लबको प्रकाश, मञ्च र उस्तै किसिमको ध्वनीको प्रयोगमा ब्रोडवे थिएटरकै अनुभव गराउने उदेश्यसहित ‘सिकागो द म्यूजिकल’लाई एलओडीमा गर्ने निर्णयमा पुगेको आलिजेले सुनाइन् ।

‘ब्रोडवेमा त स्टेजमै थुप्रै कुरा भइरहेको हुन्छ । एकै समयमा धेरै कुरा मञ्चमा भइरहेको हुन्छ । त्यसैको अनुभव गराउन हामी एलओडीमा आयौं,’ आलिजेले भनिन्, ‘ब्रोडवेमा स्नाक्स र पिय पदार्थ पिउँदै नाटक हेर्न मिल्छ । तर, नेपालमा त फिल्ममा बसे जसरी कुर्सीमा चुपचाप बसेर नाटक हेरिन्छ । त्यसैले त्यही अनुभवलाई जीवन्त बनाउन हामी एलओडीमा नाटक लिएर आयौं ।’

शुक्रबार आलिजे एलओडीमा कलाकारलाई निर्देशन गराउनमा व्यस्त थिइन् । उनी कहिले कलाकारलाई मञ्च प्रवेश र प्रस्थान रिहर्सल गराउँदै थिइन्, त कहिले प्रकाश व्यवस्थापकलाई प्रकाश व्यवस्थापन गराउँदै थिइन् । जेलर मामा मोर्टिनको भूमिकामा देखिएकी कलाकार लुनिभा तुलाधर पनि मञ्चको कुनातिर भेटिइन् । उनी यो नाटकमा महिला सेलकी जेलर हुन् ।

Today at LOD, 'Chicago the Musical'

पैसाका लागि जे सुकै गर्न सक्ने यो पात्रले गर्दा जेलमा भएका महिलाहरुले कस्ता सुविधाहरु उपभोग गर्न पाउँदो हुन् ? आलिजेसँग लुनिभाले ‘इन्द रेड एण्ड ब्राउन वाटर’मा सँगै काम गरेकी थिइन् । फिल्ममा क्विन लतिफाले यो भूमिकामा अभिनय गरेकी थिइन् । यो भूमिकाको अफर लिएर जब आलिजे लुनिभा कहाँ पुगेकी थिइन्, उनी सुरुमा आत्तिइन् । खासमा लुनिभाको बुवा, क्विन लतिफाको फ्यान । उहाँ भन्नुहुन्थ्यो, तँ क्विन लतिफा बन्न सक्छौ त ? ‘मेरो लागि त क्विन लतिफा प्रेरणा नै हो । त्यसैले उहाँले गर्नुभएको यो भूमिका गर्नैपर्छ भन्ने भयो । तर, गीत गाउन, नाच्न सक्दिन भन्ने थियो । मलाई नाच्न गाउन पर्‍यो,’ लुनिभाले भनिन् । 

Today at LOD, 'Chicago the Musical'

मञ्चको अर्को कुनातिर भेटिएका कलाकार इलम दीक्षित पनि बिल्लीको भूमिकालाई लिएर उत्साहित भेटिए । बिल्ली ती महिलाको अधिवक्ता हुन्, जो हत्यामा संलग्न छन् । यो नाटकमा २६ जना कलाकार छन् । रिहर्सलको अन्तिम समयतिर इलम यो चरित्रका लागि छानिएका थिए । खासमा कलाकार दीव्य देवले इलमलाई यो नाटक र चरित्र खोजीबारे सुनाएका थिए ।

‘दीव्यले भनेको भोलिपल्ट म आलिजेलाई भेट्न गएँ । नाटकको रिहर्सल भएकै २ महिना बितिसकेछ, तर उहाँहरुले बिल्लीको चरित्र पाउनु भएको थिएन रहेछ । धन्न मैले पाएँ,’ इलमले भने, ‘यो चरित्र उछिट्टिएर पाएँ मैले । मलाई त यो ब्रोडवे भन्दा लस भेगसको कुनै होटलमा महिनौंका लागि गरिने नाटकजस्तो लागिरहेछ यो । तर, हामीले एक सो मात्रै गर्ने सोचेका छौं, म चाहन्छु सिकागोको यो सो धेरै पटक गर्न पाइयोस् ।’ 

कान्तिपुर संवाददाता

Link copied successfully